नेपालको तेस्रो आलु महोत्सव मेलुङ गाउँपालिकामा सम्पन्न, मेलुङको आलु अन्तराष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्य

मोहन अभिलाषी कार्तिक ४, २०७६

दोलखाको मेलुङ गाउँपालिकाले आयोजना गरेको दुई दिने आलु महोत्सव शनिबार भव्य रुपमा सम्पन्न भएको छ । मेलुङ गाउँपालिका वडा नम्वर ३ घ्याङसुकाठोरमा कार्तिक १ र २ गते संचालन भएको आलु महोत्सवको प्रदेश नम्वर ३ का भुमि व्यवथा कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गर्नुभएको थियो । महोत्सवको उद्घाटन समारोहमा विभिन्न लामा तथा झाँकीहरु प्रदर्शन गरिनुका साथै मगर समुदमएको भेषभुषा पनि प्रदर्शन गरिएको थियो । मेलुङ आलु महोत्सव पनौती र हेम्जा आलु महोत्सव पछिको नेपालकै तेस्रो आलु महोत्सव मानिएको छ ।

महोत्सवको उदघाटन गर्नु हुँदै मन्त्री लामाले आर्थिक संवुद्धिका लागि कृषिलाई व्यवसायीक गर्नुपर्ने बताए । मन्त्री लामाले दोलखाको मेलुङ गाउँपालिकामा उत्पादन भएको आलु प्रवद्र्धन गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए । उनले मेलुङमा उत्पादन भएको आलु भण्डारणका लागि प्रदेश सरकारले डिपिआर निर्माण गर्न तत्काल टोली परिचालन गर्ने प्रतिवद्धता पनि जनाए । प्रदेश सरकारले मागको आधारमा प्रदेशभित्रका सबै स्थानीय तहलाई कृषि सम्बन्धी कार्यक्रम उपलब्ध गराउने भन्दै लामाले कृषिको प्रवद्र्धनका लागि सबैको सहयोग आवश्यक भएको बताए ।

किसानहरुद्धारा उत्पादन गरिएको आलुलाई प्रर्वद्धन र वजारीकरण गर्ने उदेश्यले आयोजना गरिएको आलु महोत्सवमा विभिन्न ठाँउ तथा प्रजातिका आलुहरुको प्रर्दशन गरिनुका साथै आलुको मम, समोसा, आलु दम लगायत आलुबाट बन्ने २० भन्दा बढि प्रकारका परिकार बनाएर सहभागीहरुलाई खुवाईएको थियो । महोत्सवमा राखिएका स्टलहरुमा विउ आलु, तरकारी खाने आलु, गाँजरको जुस, स्थानीय मौसमी र वेमौसमी तरकारी, मेलुङ गाउँपालिकाको फोटो प्रदर्शनी राखिएको थियो ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले सांगितिक प्रस्तुती गरेका थिए । मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य रचना खडका, प्रदेसभा सांसद विशाल खड्का, नेपाली काङग्रेशका नेता बर्मा लामा, नेकपाका मेलुङ गाउँपालिका अध्यक्ष अम्वीका गोले, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डे, जिसस रामेछापका प्रमुख प्रेम बहादुर खड्का, कालिञ्चोक गाउँपलिकाका अध्यक्ष विनकुमार थामी, नेकपा दोलखाका कार्यवाहक अध्यक्ष गोपाल पाण्डे, नेकपाका नेताहरु लालकुमार केसी, शिवप्रसाद भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

मेलुङलाई आलुमा आत्मनिर्भर बनाउने प्राङगरीक आलु उत्पादन गर्ने र त्यसको संकलन गरी प्रसोधन विक्री गरि सामुहिक खेती प्रणालीको विकास गरी किसानहरुलाई स्वाआर्जन तथा उद्यमशीलतामा बृद्धि गराउने उदेश्यले मेलुङ आलु महोत्सवको आयोजना गरिएको मेलुङ गाउँपालिका प्रमुख नर बहादुर श्रेष्ठले बताउनु भयो । महोत्सवले आलुको विकास र उत्पादन बजारीकरणमा थप टेवा पुग्ने मेलुङ गाउँपालिकाका प्रवक्ता हीरा थोकरले जानकारी दिए ।

महोत्सवको दोस्रो दिन स्थानिय किसानहरुलाई आलु खेती गर्ने प्रविधिबारे डकुमेन्ट्रीहरु देखाइएको थियो । आलु विज्ञ शम्भुप्रसाद ढकाल र नारायण प्रसाद काफ्लेले आलुबारे स्पष्ट पार्दै मेलुङका किसानहरुलाई आलु उत्पादनमा देखिएका समस्याहरु औल्याउँदै आलु उत्पादनलाई अझ व्यवसायिक रुपमा अगाडी बढाउन किसानहरुलाई हरदम सहयोग गर्ने बताए । त्यस्तै गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले रासायनिक मलले माटो बिगार्ने हुँदा माटो बचाउनका लागि आलुमा रासायनिक मल प्रयोग नगर्न किसानहरुलाई आग्रह गर्नुभयो । किसानहरुलाई परेको समस्याहरु गाउँपालिकासमक्ष राख्न आग्रह गर्दै अब आलुलाई परम्परागत भन्दा पनि व्यवसायिक रुपमा अगाडी बढाउन लागि पर्ने वडा नं ७ का अध्यक्ष नवराज खड्काले बताए ।

मेलुङ गाउँपालिकामा वर्षत तथा हिउदको समयमा राम्रो आलु उत्पादन हुँदै आएको छ । बर्षतको समयमा मात्र मेलुङ गाउँपालिकाले करोडौको आलु निर्यात गदै आएको छ । समुन्द्री सतहबाट सात सय ३० मीटर देखि ३३ मीटरसम्मको उचाई रहेको मेलुङ गाँउपालिका वडा नम्बर ३ को भुमेस्थान, काडेँ, बाटुले, वडा नम्बर ४ को फुर्के सल्ला, तीतेचौर, सहरे, लहरे, माथिल्लो दम्बुवा, सरङ्थली तथा वडा नम्बर ५ को दुधिले, भङ्ज्याङ, कल्छे, डाँडाखर्क र कात्तिकेमा अत्यधिकमात्रामा बर्षे आलु उत्पादन हुने र त्यसको व्यवस्थापन तथा बजारीकरणको लागि आलु महोत्सव महत्वपूर्ण बन्ने गाँउपालिका प्रमुख श्रेष्ठ बताउनु हुन्छ । त्यसैगरी गाँउपालिका वडा नम्बर १ को पवटी, वडा नम्बर २ को सुकाठोकर, वडा नम्बर ४ को धनुके र थामीडाँडा, वडा नम्बर ७ को ज्यामीरे, गर्भे र सितली, वडा नम्बर ६ को सिम्रास र निकासीमा हिउँदे मौसमी आलु उत्पादन हुने गाँउपालिका प्रमुख श्रेष्ठ बताउनु हुन्छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट