फोनिज काठमाडौं शाखाद्वारा न्यानो कपडा वितरण

Mohan Shrestha कार्तिक २४, २०७६

काठमाडौं- किर्तिपुर नगरपालिका भत्केकोपाटीस्थित ‘माया घर’का बालबालिकाहरुले जाडोमा न्यानो कपडा पाएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखाले महिला तथा बाल विकास मञ्च मायाघरमा बस्दै आएका अनाथ बालबालिकाहरुलाई जाडोका लागि न्यानो कपडा वितरण गरेको हो ।

‘सञ्चारकर्मीको अभियान माया घरको बालबालिकाहरुको संरक्षण’ भन्ने मुल नाराको साथ मनकामना क्राफ्टस एण्ड क्रियशनको सहकार्यमा सो कपडा वितरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा आउनुभएका नेपाल टेलिभिजनका महा प्रबन्धक निर्देशक गोविन्द रोकायाले त्यहाँ रहेका बालबालिकाहरुलाई कपडा प्रदान गर्नुभएको हो ।

सो कार्यक्रममा उहाँले आफ्नो आधा महिनाको पारिश्रमिक माया भरका बालबालिकालाई प्रदान गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज काठमाडौं शाखाका अध्यक्ष राज्यलक्ष्मी शाक्यले सञ्चारकर्मीहरुको अभियान सामाजिक सेवामा हातेमालो गर्नेतर्फ पनि जोड दिनुपर्छ भन्ने धारणा व्यक्त गर्नुभयो ।

थोरै भए पनि गरिएको सो सहयोगले जाडोमा बालबालिकाहरुको सरंक्षणका लागि केही राहत पुगोस् भन्ने हेतुले सो कपडा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । नर्सरीदेखि १२ कक्षासम्म अध्ययनरत ४ देखी १७ वर्षसम्मका बालबालिकाहरु माया घरमा बस्दै आएको माया घरका अध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभयो ।

कपडा थापेर दंग भएका बालबालिकाहरुले कार्यक्रम अवधिभर विभिन्न मनोरञ्जनात्मक प्रस्तुती दिँदै आफ्नो कलाको प्रदर्शन गरेका थिए ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट