फलफूलमा आत्मनिर्भर कसरी बन्ने ?

मंसिर ४, २०७६


– अशिम सापकोटा

तरकारी तथा फलफूल खपत गर्नेको सङ्ख्या दिन प्रतिदिन वृद्धि हुँदै गएको छ । त्यसको अनुपातमा खेती विस्तार हुन नसकेको यथार्थ नै मान्नुपर्छ किनकि आयातको दर पनि बढ्ने क्रममै रहेको छ । त्यसैले भारत लगायतका विभिन्न देशबाट तरकारी तथा फलफूल आयात गर्नुपर्ने बाध्यता छ । नेपाली समाजमा अहिले पनि खेतीकिसानी गर्ने मानिसभन्दा जागिरेलाई सम्पन्न परिवार मानिँदै आएको छ ।
यसले पनि केही समस्या थपेको हुन सक्छ । अहिले धेरैजसो ग्रामीण भेगमा बसोवास गर्ने मानिस ऋण खोजेरै भए पनि विदेशिने प्रचलन बढ्दै गएको छ । यसलाई रोक्न सरोकारवाला सबैले पहल गरेमा धेरै मात्रामा तरकारी तथा फलफूल आयात गर्नुपर्ने अवस्था आउँदैन । गाउँका उर्वर भूमि बाँझो हुँदै गएका छन् । त्यसै गरी विदेशबाट आउने रेमिट्यान्ससमेत कृषिमा लगानी भएको छैन ।

हरेक वर्ष फलफूल उत्पादनका लागि नेपालमा नै विभिन्न मिसन कार्यक्रम आउने गरेका छन् । अनार, अङ्गुर, सुन्तला, स्याउ, नास्पाती, केरा, भुइँकटहर, खरबुजा, आँपलगायतका फलफूल उत्पादनका लागि नेपाल महत्वपूर्ण देशका रूपमा मानिँदै आएको छ । मुस्ताङका स्याउको बजारीकरण गर्न नसकेका कारण स्याउ कुहिन थालेका समाचार हाम्रा लागि निकै चर्चाका विषय हुन सक्छन् ।

सुन्तला होस् वा केरा, नास्पाती होस् या अनार, सबै फलफूलका लागि नेपालका धेरै ठाउँहरू उत्पादन योग्य छन् । तैपनि कतिपय ठाउँमा विगतमा उत्पादन गर्ने गरेका भए पनि यतिखेर उत्पादनमा कमी आउन थालेको पाइन्छ । हुन त यो समयमा कतिपय ठाउँका युवाहरू यस्ता ठाउँमा नाङ्गा डाँडाहरूलाई फलफूल खेती गर्न तम्सिएकाहरू पनि प्रशस्त नै छन् । तर प्रतिफल आएजस्तो देखिएको छैन ।

हुन त सरकारले प्रत्येक वर्ष कृषिको व्यवसायीकरणलाई टेवा दिन भनेर बजेट पनि बढाएकै छ । तर पनि नेपाल फलफूलमा अझै पनि भारत वा चीनकै आशामा बस्नुपरेको छ । जब चाडवाड आउँछन् तब फलफूलको माग बढ्दै जान्छ । नेपाललाई कृषिप्रधान देश भन्ने गरिएको भए पनि पछिल्लो समयमा कृषिप्रधान देश भन्नुभन्दा पनि कृषकप्रधान देश भन्नुपर्ने अवस्था आइसकेको छ ।

खाद्य सामग्रीहरूको उत्पादनमा कमी आएको मात्र होइन, कृषितर्फ धेरै युवा जनशक्तिहरूको आकर्षण घटेका कारण पनि यो अवस्था आएको हो । नेपाल सरकारले युवा लक्षित गरी कृषि कार्यक्रमहरू सञ्चालन गरेको भए पनि त्यो नेपाली बेरोजगार युवाहरूका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात भएको छ । कृषि विकास मन्त्रालय मातहत कतिपय कृषि आयोजनाले समेत फलफूलका लागि सहयोग गरे पनि आवश्यकता अनुरूप उत्पादन हुन नसक्दा अझै पनि छिमेकी राष्ट्रसँग परनिर्भरतामा रमाउनु परेको तीतो यथार्थ पनि हामीसँग ताजा छ ।

नेपाली जनताहरूको खाने आनीबानीमा परिवर्तन आउनु र मांसाहारी विस्तारै साकाहारीतर्फ परिवर्तन हुने कारण पनि फलफूलको माग बढ्नुको एउटा कारण हो । काठमाडौँका विभिन्न ठाउँमा फ्रुट्स पसल सञ्चालन गरिरहेका व्यवसायीहरूले पनि यही तथ्य निकालेका छन् ।

आयस्रोतमा भएको वृद्धिसँगै सहरी र ग्राामीण भेगका उपभोक्ता फलफूलप्रति नै आकर्षित भएका छन् । अन्य समयभन्दा चाडवाडमा तेब्बरभन्दा बढी फलफूल बिक्री हुने गरेको र अधिकांश भारतबाट आयातित हुने गरेको समेत फलफूल व्यवसायीको भनाइ छ ।

फलफूलको परनिर्भरता हटाउनका लागि सरकारले जिल्ला जिल्लामा फलफूल उत्पादनका लागि मिसन कार्यक्रम सञ्चालन गरी प्रभावकारी ढङ्गले अगाडि बढ्ने हो भने केही समयभित्रै आन्तरिक उत्पादन वृद्धि गर्न सकिन्छ । यसले रोजगारी सिर्जना हुन्छ ।

कोल्ड स्टोरेजको व्यवस्था गर्न सके आयातदर कम हुने
नेपालमा उत्पादित तरकारी तथा फलफूललाई लामो समयसम्म व्यवस्थापन गर्न सरकारले कोल्ड स्टोरेजको स्थापना गर्नु आवश्यक छ । अहिले पनि नेपाललाई आवश्यक पर्ने तरकारी स्वदेशमा उत्पादन हुँदै आएको छ । तर उचित व्यवस्थापनका अभावले सबै तरकारी तथा अन्य वस्तु कुहिएर खेर जाने गरेकाले आयातमा वृद्धि भएको हो । सरकारी कदम सकारात्मक भई कोल्ड स्टोरेजमा किसानलाई अनुदान दिन सकेको अवस्थामा आलु त निर्यातसमेत गर्न सकिने बलियो आधार छ । तर यसमा सहकार्यको खाँचो छ । हिमाली जिल्लामा आलुको सम्भावना राम्रो छ । ती जिल्लामा व्यावसायिक आलु खेतीका लागि सरकारले पहल गरेमा निर्यातको सम्भावना बढ्छ ।

त्यस्तै, खेती गर्ने मानिसलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको पाइन्छ । जागिरे र खेती गर्ने मानिसप्रतिको सोचाइ फरक पाइएको छ । सरकारले नीति नै बनाएर यस्तो सोचाइमा सुधार गर्न आवश्यक छ । त्यसैगरी सरकारले किसानलाई समयमा हाइब्रिड बीउ, रासायनिक तथा प्राङ्गारिक मल, कृषि बीमा, सहुलियत दरमा ऋण उपलब्ध गराउन सके केही वर्षमा नेपाल फलफूलमा आत्मनिर्भर हुन सक्छ ।

नेपालका मुख्य सहरमा भएको घर तथा जग्गालाई मात्र बैङ्कले धितोसहित ऋण उपलब्ध गराउने गरेका छन् । तर, वास्तविक किसान भने गाउँगाउँमा छन् । त्यसैले अहिलेसम्म वास्तविक किसानले ऋण पाउन कठिन छ । अहिले नेपालमा बीउबिजन उत्पादन गर्ने धेरै संस्था स्थापना भएका छन् ।

तर ती संस्थाले आफूलाई अनुकूल पर्ने बेलामा मात्र बीउ उत्पादन गर्दै आएकाले समस्या थपिएको हो । नेपालका विभिन्न जिल्लामा विभिन्न फलफूल खेतीको सम्भावना भएकाले ती क्षेत्रमा पनि फलफूल खेतीलाई प्रोत्साहित गर्नु आवश्यक छ । यसरी सम्भावना बोकेका क्षेत्रमा सबैको ध्यान जानु आवश्यक छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट