इँटाको घरलाई भूकम्प प्रतिरोधी बनाउन ध्यान दिनुपर्ने प्राविधिक कुराहरु

अशोज ३, २०७३

हामी सिमेन्टको जोडाइमा इँटाको घरलाई भूकम्प प्रतिरोधी बनाउन ध्यान दिनुपर्ने केहि प्राविधिक विषयसँग सम्बन्धित जानकारी दिने प्रयास गरेका छौँ ।

xmodel,P204,281,29.JPG.pagespeed.ic.4MO8060lRzसिमेन्टको जोडाइमा इँटाको घरलाई भूकम्प प्रतिरोधी बनाउन निर्माण स्थलको छनौट र माटो परीक्षण पहिलो काम हो । यसमा पानी जम्ने स्थान, ढुंगा खस्ने स्थान, पहिरो जान सक्ने स्थान, माटो झरेको वा पुरुवा माटो भएको स्थान, नदीको वगर वा सीमसार स्थान, भौगर्भिक चिरा भएको स्थानमा घर बनाउन हुँदैन । भिरालो स्थानमा घर बनाउनुपर्दा अधिकतम २० डिग्री भिरालोसम्मा मात्र निर्माण गर्नुपर्दछ । त्यस्तै भवनको आकार प्रकार र नाप कस्तो कति राख्ने भन्ने विषयमा पनि पहिल्यै निक्र्यौल गर्नुपर्छ । साधारण र नियमित आकारको जस्तै वर्गाकार, आयातकार वा वृत्ताकार घर निर्माण गर्नुपर्दछ । लामो र साँघुरो घर बनाउन हुँदैन । असाधारण आकार जस्तैः एल, सी, टी र आई आकारको घर बनाउनु हुँदैन । र यदि बनाउनै परेमा ती आकारलाई उपयुक्त ठाउँ छोडी साधारण आकारमा परिवर्तन गर्न सकिन्छ । घर दुई तला र त्यस माथिको बुईगलसम्म सिमित राख्नुपर्दछ ।

यस्तै निर्माण सामग्रीहरु जस्तै इँटाको बलियोपना एक तला निर्माणको लागि ३ दशमलब ५ एम पी ए हुनुपर्छ । साथै २ तलासम्मको भवनको सन्दर्भमा माथिल्लो तलामा ३ दशमलब ५ एम पी ए र भुईँ तलाको लागि ५ एम पी ए हुनुपर्छ । अथवा चिल्ला सतह भएको, चारकुना मिलेको, राम्ररी पोलिएको रातो, एउटै आकार भएको इँटा प्रयोग गर्नुपर्छ । इँटा ३ फिटको उचाइबाट खसालेर हेर्दा नफुट्ने बलियो हुनुपर्छ । इँटा जडान गर्ने मसलमा कम्तीमा १ भाग सिमेन्ट र ६ भाग बालुवा राख्नुपर्छ । कंक्रिट मसला बनाउँदा १ भाग सिमेन्ट, साढे १ भाग वालुवा र ३ भाग रोडा मिलाउनुपर्छ । डण्डी प्रयोग गर्दा टी एम टी, टोरेस्टिल अथवा माइलस्टील प्रयोग गर्न सकिन्छ । सिमेन्टको जोडाइमा इँटाको घरको जग लगाउँदा गारोवाला जग लगाउनुपर्दछ । माटो अनुसार जगको न्यूनतम नाप तोकिएको हुन्छ ।

यस्तै गारो लगाउँदा गारोको अधिकतम लम्बाइ, उचाइ, प्यानल साइज र न्यूनतम मोटाइमा ख्याल गर्नुपर्छ । गारोको न्यूनतम मोटाइ २३० मिलिमिटरसम्म हुनुपर्दछ । यदि गारोको लम्बाइ धेरै लामो भयो भने आड दिने गरी छुट्टै गारो उठाउनुपर्दछ, जसलाइ अंग्रेजीमा बट्रेस भनिन्छ । यस्ता गारो ३ मिटरभन्दा टाढा राख्नु हुँदैन । यसको न्यूनतम मोटाइ मुख्य गारो बराबरको हुनुपर्दछ र आधारको न्यूनतम चौडाइ गारोको उचाइको ६ भागको १ भाग हुनुपर्दछ । साथै माथिको चौडाइ कम्तीमा गारो बराबर हुनुपर्दछ । चुली गारोले गारोको उचाइ बढाउने हुँदा सकेसम्म काठ वा जस्ता पाताको हलुका चुलीगारो राख्नुपर्दछ ।

सिमेन्टको जोडाइमा इँटाको घर बनाउँदा झ्याल ढोका राख्दा विशेष ध्यान पुर्याउनुपर्छ । झ्याल र ढोका गारोको कुनाबाट कम्तिमा ६०० मिलिमिटर टाढा राख्नुपर्छ । झ्याल ढोकाको बीचमा कम्तिमा ६०० मिलिमिटर गारो लगाएको हुनुपर्छ । एक तलाको निर्माण गर्दा झ्याल ढोकाको लम्बाइ बढीमा गारोको लम्बाइको ५० प्रतिशत हुनुपर्दछ र २ तलाको हकमा ४२ प्रतिशत हुनुपर्दछ । सबै झ्याल ढोकाको लागि सील र लिन्टेल बन्धन एउटै तहमा राख्नुपर्छ ।

गारो बनाउँदा ठाडो जोर्नीहरु एउटै सिधा ठाडो रेखामा नपर्ने गरी छलेर लगाउनुपर्छ । गारोको बीचमा र कुनामा दाँती बनाउन भन्दा खुड्किलो बनाई छोड्नुपर्छ । एकपटकमा खुड्किलोको उचाइ ६०० मिलिमिटर भन्दा बढी उठाउनु हुँदैन ।

भवनमा जग, जगको माथिल्लो सतह, झ्यालढोकाको तल्लो र माथिल्लो सतह, चुली गारोको भिरालो सतह, भुँइको सतह र छानाको सतहमा पुरै गारोभरि तेर्सो पट्टीहरु दिनुपर्दछ । सुर र जोर्नीमा उचाइतर्फ ५०० देखि ७०० मिलिमिटरको दुरीमा स्टिचको प्रयोग गर्नुपर्छ ।

झ्यालढोकाको कमजोर ठाउँहरु जस्तै जोर्नी, कुना र झ्यालढोकाको छेउमा ठाडो फलामे डण्डीहरु हाल्नुपर्दछ । ठाडो फलामे डण्डीहरु जगबाट सुरु भई छानाको सतहसम्म जानुपर्दछ । यस्ता डण्डीहरु तेर्सा पट्टीहरु राम्रोसँग बाँँधिएको हुनुपर्छ ।

यस्तै छाना लगाउँदा पनि विशेष ध्यान पुर्याउनुपर्छ । लचकदार छाना लगाउनुपर्दा जस्तापाता जस्ता हलुका सामान प्रयोग गर्नुपर्दछ । छाना तथा तल्लाहरु गारोसँग उपयुक्त तरिकाले बाँधेको हुनुपर्दछ । लचकदार तला र छानामा चौकुने बन्धन पनि राख्नुपर्दछ ।

श्रोत: पुनर्निर्माण प्राधिकरण


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको