नयाँ वर्षको पहिलो दिनमा नै महँगीको मार

पुस १६, २०७६

काठमाडौँ –  नयाँ वर्षको पहिलो दिनमा नै भारतमा सर्वसाधारणले महँगीको मार खेप्नु परेको छ ।बुधबार पेट्रोलियम कम्पनीले गैर- अनुदान प्राप्त एलपिजी ग्यासको मूल्य बढाएका छन् । एलपिजी ग्यासमा प्रति सिलिण्डर भारु १९ ले मूल्य वृद्धि भएको भारतीय समाचार माध्यमले जनाएका छन् । नयाँ मूल्य बुधबारदेखि लागू हुने छ ।

इन्डियन आयल कर्पोरेशनका अनुसार दिल्ली र मुम्बईमा प्रति सिलिण्डर क्रमशः १९ र १९.५ भारुले ग्यासको भाउ बढाइएको छ । भाउ बढेसँगै दिल्लीमा गैर- अनुदान प्राप्त घरेलु ग्यास सिलिण्डरको मूल्य भारु ७१४ पुगेको छ भने मुम्बईमा ६८४.५ भारु पुगेको छ ।

त्यस्तै कलकत्ता र चेन्नेईमा ग्यासको मूल्य क्रमशः ७४७ भारु र ७३४ भारु पुगेको छ । यता भारतीय रेल सेवामा समेत आज बुधबारदेखि नै लागू हुने गरी नयाँ भाडादर निर्धारण गरिएको छ । रेल यातायातको आधारभूत भाडादरमा वृद्धि भएको हो ।

रेल मन्त्रालयका अनुसार सामान्य ट्रेनमा प्रति किलोमिटर १ पैसा वृद्धि भएको छ । साथै मेल तथा एक्सप्रेस ट्रेनको स्लिपर क्लासमा प्रति किलोमिटर २ पैसाका दरले भाडादर बढाइएको छ ।

साथै एयर कन्डिशनयुक्त क्लासमा प्रति किलोमिटर ४ पैसाले भाडादर बढाइएको छ । तर लोकन तथा सबअर्बन ट्रेनको भाडा दर भने यथावत नै राखिएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट