माघे संक्रान्तिमा सार्वजनिक बिदा

पुस २२, २०७६

काठमाडौं – माघे संक्रान्तिको अवसरमा प्रदेश नं. ५ को सरकारले २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आगामी माघ १ र २ गते माघे संक्रान्ति पर्व मनाउन प्रदेश ५ मा सार्वजनिक बिदा दिने निर्णय भएको हो । यो प्रदेशमा नवलपरासी बर्दघाट (सुस्ता पश्चिम), रूपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रूकुम (पूर्वी भाग), रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया गरी बाह्र जिल्लाहरू रहेका छन् ।

गत वर्ष पनि प्रदेश ५ ले माघी पर्वको अवसरमा २ दिन बिदा दिएको थियो । माघे संक्रान्ति, मकर संक्रान्ति, माघी नामले चिनिने किरातहरुको नयाँ बर्षको रुपमा यस पर्व माघ महिनाको पहिलो दिन पर्दछ ।

ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिएको हो । थारू समुदायले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँछन् । माघीको दिन स्नान गरी तिलको आगो ताप्नाले वर्ष भरिको पाप पखालिन्छ भन्ने मान्यता थारू समुदायमा छ ।

दाङ-देउखुरीमा पर्ने धार्मिकस्थल रिहार थारू समुदायको परम्परागत देवथानको रूपमा रहेको छ, त्यहाँको तातो कुण्डमा स्नान गर्न माघीको दिन भक्तजनहरूको ठूलो घुइँचो लाग्दछ ।

त्यहाँ भारतबाट समेत ठूलो सङ्ख्यमा तीर्थालुहरू आउँछन् । त्यहाँ स्नान गरेमा मनोकामना पूरा हुने, निःसन्तानले सन्तान पाउने भन्ने धार्मिक विश्वास छ ।

यसैगरी दाङ-देउखुरीकै गोबरडिहाको जङ्गलवा कुट्टीमा पनि माघे सङ्क्रान्तिमा मानिसहरू रातभरि जाग्रम गरी पूजाआजा गर्छन् । माघी पर्व थारुहरूको सबैभन्दा ठूलो पर्व रहेकोले यसलाई परापूर्वकालदेखि नै धुमधामका साथ मनाउँदै आइरहेका छन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट