अवैध उत्खननको विरोध गर्याे भनि टिपरले किचेर हत्या

पुस २५, २०७६

 काठमाडौँ – धनुषाको मिथिला नगरपालिकास्थित औरही खोलामा अवैध गिट्टी बालुवा उत्खननको विरोध गरे पछि एकजना युवकलाई टिपरले किचेर हत्या गरिएको छ । स्थानीय युवक २४ वर्षीय दीलिपकुमार महतोलाई बिहान करिब ४ बजेदेखि ५ बजेको बीचमा खोलामा नै टिपरले किचेर हत्या गरेको प्रहरीले पुष्टी गरेको छ ।

शुक्रबार बिहानै ‘मर्निङ वाक’ मा गएका महतोले घर नजिकै रहेको खोलामा अवैध तरिकाले गिट्टी बालुवा उत्खनन भएको देखेपछि विरोध गरेका थिए । घरनजिकैको खोलामा उत्खनन भइरहेको देखेपछि विरोध गर्न पुगेका महतोलाई ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गरिएको स्थानीयले बताएका छन् ।

पहिलादेखि नै अवैध रुपमा खोलामा भइरहेको उत्खनन्को विरोध गर्दै आएका दीलीपलाई सोही कारण क्रसर सञ्चालकले उनको हत्या गराएको स्थानीयले आरोप लगाएका छन् । क्रसर उद्योगीहरुले मृतकका बुवालाई क्रसर उद्योगको विरोध नगर्न दिपकलाई सम्झाउनु भनेर बारम्बार दबाब दिएको परिवारका सदस्यले दावी गरेका छन् ।

‘घटनाको प्रकृति र स्थानीका अनुसार जबर्जस्ती समाएर टिपर चालकले किचेर मारेको देखिन्छ,’ इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले भने।

उनका अनुसार टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसान्धन गरिरहेको छ भने मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पुर्‍याइएको छ ।

हत्यापछि आक्रोशित स्थानीयले विरोधमा चक्काजाम गर्नुका साथै टायर बालेर राजमार्ग अवरुद्ध गरेका छन् ।

आन्दोलनले चर्को रुप लिएपछि अवस्थालाई समान्य बनाउन प्रहरीले १० राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट