कथा : छोरो कस्को ? – विजय कट्टेल ‘छहरा’

अशोज ५, २०७८

बाटुलीले छोरोलाई हेरी र मुसुक्क हाँसी । अतितका ती दिनहरुलाई झलझली सम्झी र बिहानको कलिलो घाममा छोरालाई सुताएर कपाल सुमसुम्याई ,गाला मुसारी र छोराको गालामा च्वाप्प म्वाईँखाई । बाटुलीको श्रीमान सन्तबहादुर पनि छोराको छेवैमा बसेर चियाको तातोसँगै रापिलो घाम तापिरहेको थियो । आज चियाको रङ्ग अली कडा भएछ ।

चियाको स्वाद अली तितोजस्ता लाग्यो । कि चिया फेरियो बाटुली ? बाटुलीले उत्तर दिइ हैन,अस्ति हजूरले बजारबाट ल्याइसेको त्यहि मुना चिया त हो नि, कहाँ फेरिनु र ? चियापत्ती अली बढ्ता हालिछ्यौ उसोभए । बाटुली बोलिन एकोहोरो छोरोतर्फ हेरेर बसिरही अनि फेरी छोराको गाला मुसार्दै भनी, हजुर सुनिस्यो त, हाम्रो बाबुको अनुहार त काटीकुटी हजूरकै अनुहारसँग ठ्याक्कै मिल्छ । हात, गोडा, आँखा, मुख अलिकति पनि फरक छैन सेमटु सेम फेटोकपि अझ यो नाँक त झन अलिकति पनि मिस छैन । सन्तबहादुर मख्ख प¥यो बोलेन तर टाउको हल्लाउँदै समर्थन जनायो ।

यो जाडो महिनाको समय बिहान उठ्दै सात बजिसक्छ । अलिकति समय अलमल ग¥यो कि अफिस जानँ हतार भैहाल्छ । बिहानको नौ बजे त अफिस जइन गरिसक्नु पर्छ । साइरन बजेको पन्ध्र मिनेट भन्दा ढिलो गर्न पाइन्न । नत्र गेट पालेले भित्र छिर्न दिँदैन । यत्ति भनेर सन्तबहादुरले हतार—हतार कपडा चेन्ज गरेर अफिसतिर लाग्यो । बाटुली भने छोरालाई लिटो ख्वाउन लागी ।

बाटुली नखरमाउली छे । नखरा पारेरै बैँशमा उसले धेरै केटाहरुसँग यौन सम्बन्ध गाँसी । कैयौँ रात ऊ पुलिसको कष्टडीमा पनि बसी । कति भ्रुण हत्या पनि गरी । यसको लेखा जोखा छैन । उसका बावु आमाले पनि थेग्न थाम्न नसकेर बजारमा छोडेको साडीझैँ ऊ दिसभरि घुम्थी र भट्टीमा केटाहरु भेलागरेर कहिलेकाहीँ बेलुका डान्स बारमा हाजिर हुन पुग्थी । बाटुली गरीव परिवारकी उत्ताउली केटी थिई ।

बिचरा बा आमा सोझा भएर होला उसले हरेक कुराको दाई गर्दै हिँडी र कसैलाई पनि टेरिनँ । न त खर्चको जोहो गरी नत जवानीको रक्ष गरी । पढ्ने, लेख्ने र भविस्य बनाउँने उमेरमा बैँश बेचेर हिँडी । जवानीको छाता ढल्काएर केटाहरु पट्याउँन मात्र ऊ सिपालु भई ।

सन्तबहादुर सोझो मान्छे । ऊ छक्कापञ्जा जान्दैन । गाउँमा जन्मेर हुर्केको उसको जीवन कथा दुःखले भरिएको छ । चारजना दाजुभाइ र पाँचजना दिदी बहिनी मध्येको जेठो सन्तान हो सन्तबहादुर । घरमा खाँन लाउनका दुख्खले मजदुरी गर्न ऊ सहर पसेको दश बर्ष भयो । एउटा उद्योगमा काम गर्छ । ऊसँग पढाई लेखाई छैन । पढ्न चाहेर पनि सन्तबहादुरले पढ्न सकेन । सानामा भाइ बहिनी हुर्काउँदै समय बित्यो । ठुलो भएपछि ऋनले थिच्यो र पैसा कमाउँन सहर पस्यो ।

वास्तवमा गरीव हुनुको पीँडा पनि कहाली लाग्दो हुँदोरहेछ । कसैले विश्वास नगरिदिँदा र खाँन लाउँनको दुःख हुँदा आफ्ना हरेक खुशीहरुलाई पैतालाले थिचेर राख्नुपर्ने । जसले जे—जे भने पनि मौनता पूर्वक सुनिदिनुपर्ने । विचरा सन्तबहादुर रुँदा पनि दिल खोलेर रुँन पाउँदैन र हास्दा पनि खित्का छोडेर हास्न पाउँदैन ।

उसको यो संसारमा खुसी देख्ने अलिकति पनि कतै ठाउँ छैन । सन्तबहादुर हरेक कुरामा टाउको हल्लाएरनै मौनतावस स्वीकृति जाहेर गर्ने गर्छ । उसले कामगर्ने कम्पनीको ऊ इमान्दार अनि असल कर्मचारी हो तर आजसम्म स्यााबासी र बोनस कहिल्यै पाएको छैन किनकि ऊ कसैको चाकरी पनि गर्न जान्दैन ।

सन्तबहादुरले कम्पनीमा काम गरेको दशबर्ष वित्यो तर आफ्नै मालिकसँग सामु परेर आजसम्म उसले गफ गरेको छैन । दुःख सुखका कुराहरु धेरै गर्न मन छ उस्लाई तर बोल्ने आँट र सहास पनि उसँग छैन । कम्पनीको मेनेजरले जुन दिनदेखि उसलाई काममा लगायो सोहि दिनदेखि उसैको विश्वासपात्र बनेर कर्म क्षेत्रमा लगनशील छ सन्तबहादुर । मेनेजरले भनेका र अह्राएका कुराहरुमाथि उस्लाई पुरा भरोसा छ ।

कहिलेकाहिँ कम्पनीका मजदुर हरुले विभिन्न माग राखेर जुलुस प्रदर्शन गर्छन । त्यसमा ऊ सहभागी हुँदैन । मेनेजर र मालिकलाई ऊ देबता सरह ठान्छ । नमानोस पनि किन उसको रोजीरोटी त्यहि कम्पनीबाटै चलेको छ । कम्पनी साहुले ऊनीहरुबाट सश्रमको सोषण गरेरै दशवटा उद्योग र कम्पनीको मालिक भैसक्यो तर ऊ जाहिँको त्यहिँ छ । दुई तीन बर्षमा थोरै तलब बढ्दा पनि सन्तबहादुर खुसीले गद्गद् हुन्छ ।

सन्तबहादुरको बिहेगर्ने उमेर पनि घर्की सक्यो । ऊ कसैसँग लभगर्न पनि जान्दैन । साथीहरुले कहिलेकाहिँ उसलाई जिस्क्याउछन् बिहेगर्ने कुरा गर्दा लाजले ऊ भुतुक्क हुन्छ । माया र प्रेम गास्न पनि आजसम्म कसैले उस्लाई प्रस्ताव राखेको छैन ।

लभगर्न, प्रेमगर्न र माया ममतामा गासिन पनि योग्यताकै जरुरत पर्दो रहेछ । आफ्नो मान्छे दह्रो, विश्वासिलो र भरपर्दो नभएपछि अनि धन सम्पत्ती पनि नभएपछि त त्यस्ता मान्छेको जीवन पशुसरहनै बित्तो रहेछ ।

बाटुली बेला बेलामा मेनेजरलाई भेट्न कम्पनीमा आइरहन्थी । मेनेजरसँग उस्को नाता सम्बन्ध त केहि पनि थिएन र बाटुली कम्पनीमा कामगर्ने मजदुर वा कर्मचारी कोहि पनि होइन,तर मेनेजरसँग कहिलेकाहिँ खर्चको आसले आउँथी र थोर बहुत खर्च बोकेर जान्थी । ऊ धेरै पल्ट कम्पनीमा आउँदा मेनेजरलाई भेट्न मात्र आउँथी । मजदुरहरु सवैजना आफ्नै काममा व्यस्त हुन्थे । सन्तबहादुर पनि आफ्नै कममा ब्यस्त रहन्थ्यो ।

बाटुलीसँग मेनेजरजस्ता कैयौँ साथीहरु छन् । ऊ हरेकसँग भेटमा बट्टा उठाउँछे । त्यसको वील भर्पाई केहि हुँदैन । ऊ प्रायजसो फोनमा ब्यस्त देखिन्छे । उसका साथीहरुको वर्थडेमा उस्लाई मोवाइलमा ह्वार ह्वारी पैसा आउँछ । आजसम्म उसले मोबाइल रिचार्ज गर्नु परेको पनि छैन ।

बाटुली जवानी बेच्छे र पैसा कमाउँछे । रिल्याक्स गर्छे र पैसा सिध्याउँछे अनि भविश्य गुमाउँछे । उस्लाई जवानी रित्तिएका पत्तो छैन । आँखा सन्काउँन सिपालु छे । नक्कल पार्छे । लुगाहरु फेरीफेरी लाउँछे । उसलाई कसैको चिन्ता छैन खाली जवानी र रुपको कुरा गर्छे । फुर्सद भयो कि छाता ढल्काएर सहरको चोकमा उभिन्छे र चारैतिर आँखा सन्काउँछे ।

सन्तबहादुर बिवाह नभएको अधबैँसे ठिटो मेनेजरले भनेपछि ऊ जे काम गर्न पनि तयार हुन्छ । अरुका कुरामा ऊ त्यति विश्वास गर्दैन । एकदिन सन्तबहादुर मेनेजरको कोठामा अफिसका कागजपत्रहरु मिलाउँदै थियो । बाटुली पनि त्यसै बेला मेनेजरसँग भेटगर्न कम्पनीमा टुप्लुक्क आइपुगी । मेनेजरले सन्तबहादुरसँग बाटुलीको परिचय गराइदिए । बाटुली केहिछन बसेर त्यहाँबाट बिदाभई ।
मेनेजरले सन्तबहादुरलाई त्यहि केटीसँग बिवाहाको बारेमा चाँजो र परिबन्द मिलाउँनकालागि सन्तबहादुरलाई अफिसको कागज—पत्र मिलाउँने बहानाबाजी गरेको थियो । बिचरा सन्तबहादुरलाई के थाहा ? ऊ सोझो र आज्ञाकारी मान्छे ।

मेनेजरले सन्तबहादुरलाई बाटुलीसँग बिवाह बन्धनमा बाधिन सल्लाह दिए साथै खर्चको अभाव झेल्न नपर्ने कुरा पनि जानकारी गराए । बिवाह मन्दिरमा टिकाटालागरी सम्पन्न गर्ने र फूलमाला गरेकै दिन विबाह सम्पन्न गर्ने सरसल्लाह समेत मेनेजरले दिएपछि सन्तबहादुरले मँैनताबस टाउको हल्लाएर स्वीकृति दियो ।

बाटुलीले पनि भनेको जस्तो लोग्ने पाउँने भै । उसलाई स्वतन्त्र पुर्वक घुमफिरगर्न, मनलागेको खान घरबाट कुनैदिन हराउँदा पनि गाली नगर्ने र नरिसाउने श्रीमान चाहिएको थियो । यस्तो स्वतन्त्रता पाउँने वातावरण देखेर बाटुली खुसी भई । सन्तबहादुर पनि दुईपैसा खर्च नगरीनै विबाह सम्पन्न हुनेँ देखेर दङ्गदास भयो । मेनेजर पनि आफ्नो मनोआकाँक्षा पूरा हुने देखेर खुसी भयो ।

मजदुरलाई साछी राखेर भगवानको मन्दिरमा सन्तबहादुरले बाटुलीको सिउँदो रङ्गायो । बाटुलीले पनि स्वयंवरको माला सन्तबहादुरको गलामा पहि¥याई । टिकाटालामानै विबाहा सकियो । दुवैजनाले ब्राम्हणलाई टीका लगाएर दक्षिण दिए । सन्तबहादुरले दुलहीलाई आफ्नै कोठामा भित्र्यायो । हेर्दा हेर्दै बिवाह पनि सम्पन्न भयो । दुवैजना प्रेम बन्धनमा बाँधिए ।

सन्तबहादुरको आफ्नो दिनचर्या सदाझैँ कम्पनीमा मजदुरी गरेरै बित्छ । ऊ बिहान ८ः३० बजे नै ड्युटीमा घरबाट निस्कन्छ । बिहानको खाना ऊ कम्पनीको क्यान्टिनमानै खान्छ । सन्तबहादुर घरबाट निस्केपछि बाटुली पनि चोक—चोकमा निस्कन्छे र छाता ढल्काई—ढल्काई फोनमा कुरा गर्छे र साँझमा सन्तबहादुर कोठामा आइपुग्दा नपुग्दै ऊ पनि घरमा आइपुग्छे ।
बाटुली मेनेजरसँग अहिले पनि बेला बेलामा बट्टा उठाउँन कम्पनीमा पुगिरहन्छे । सदाझैँ धेरै ठाउँबाट उस्ले पैसा असुल्न छाडेकी छैन ।

कहिलेकाहिँ बाटुली साथीको बर्थडेको पार्टी छ भनेर सन्तबहादुरलाई ढाँट्छे, र बाहिरै बस्छे । विचरा सोझो सन्तबहादुर विश्वासगर्छ र दिसभर कामले गलेर लखतरान भएको शरीरले खाना बनउँछ खान्छ र भाँडा मोल्छ ।

सन्तबहादुरले जति दुःख गरे पनि कम्पनीबाट पैसा कमाउँन सकेन । हरेक महिना कमाएको पैसा खानाखर्च, डेराभाडा यातायात खर्च र लत्ता कपडा यताउतामानै सकिन्छ । गाउँघरका धेरै साथीहरु विदेश गएर धेरै पैसा कमाएर प्रगति गरेको सुन्दा उसलाई पनि विदेशमा जाने औडाहा चल्छ, तर के गर्ने ? विदेशमा जान पनि पैसानै चाहिँदो रहेछ ।

शनिबारको दिन थियो । सन्तबहादुर र बाटुली घाम तापेर बसिरहेका थिए । विदेशमा जानेहरुले श्रमगरी राम्रो पैसा कमाएको कुरा उसले सञ्चार माध्यमबाट सुनेको थियो र आफ्नै गाउँका धेरै साथीहरुले धेरै जग्गा जमिन जोडेको कुरा पनि आँखा सामु छलङ्ग थियो । यी सवै कुराहरु उसले बाटुलीलाई सुनायो ।

एकदिनको कुरा हो बाटुलीले उसलाई विदेशमा जानको लागि खर्च खोजेर ल्याइदिई । कम्पनीबाट विदा लिएर ऊ अव बिदेश जाने चक्करमा लाग्यो । नभन्दै एक महिनाको बीचमा ऊ बिदेश पनि उड्यो । बिदेशमा पनि पैसा फल्ने बोट त थिएन । दःुख गरेर कमाएको पैसा मध्ये खाएर बचेको थोरबहुत पैसा सन्तबहादुरले बाटुलीका नाममा पठाई दिन्थ्यो । भनेजस्तो पैसा उसले त्यहाँ पनि कमाउँन सकेन ।

बरु पहिलेकै कम्पनीमा काम गर्ने सोच बोकेर सन्तबहादर दश महिना नबित्दै पहिलेकै कम्पनीमा काम गर्नेगरी फक्र्यो । घरमा आउँदा बाटुलीले छोरो पाइछे । बाटुली सुत्केरी थिई । सन्तबहादुर छक्क पर्यो । तर केहि पनि बोल्न सकेन । सन्तबहादुरसँग सुत्केरी उठाउँने खर्च समेत थिएन । मेनेजरले सुत्केरी उठाउँन आवश्यकीय खर्च बाटुलीलाई छोडिदिएको रहेछ । बाटुली सुत्केरी खर्च पाएर मख्ख थिई । सन्तबहादुर बाटुलीले छोरो पाएको देखेर छक्क थियो ।

  • विजय कट्टेल ‘‘छहरा’’


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको