कविता : देशप्रतिको दायित्व

अशोज १३, २०७३

Narayan Nirashi-2

नारायण निरासी  

आमाको ममता भुलेर दुधको भारा नतिर्नेहरू ।
आफ्नैमाथि सदैव पोखिइरहे वैरी नचिन्नेहरू ।।
वैशाखी सपना टुटी सहिदको छाती अचानो बन्यो ।
झर्ला अङ्ग कुनै निदान नभई माटो बिरामी भयो ।।

अर्काले चलखेल गर्छ घरमा हामी निदायौँ भने ।
कैल्यै चुम्न सकिन्न चन्द्र नभको बाटो बिरायौँ भने ।।
यात्रीले दृढ लक्ष्य आज नलिँदा गन्तव्य टाढा स¥यो ।
डुब्ला देश किनार लाउन कुनै आएन माझी अहो !

कैले उत्तर दुख्छ यो हृदयमा कैले दुख्यो दक्षिण ।
कैले दुख्दछ पूर्वको क्षितिजमा कैले दुख्यो पश्चिम ।।
कोही छैन निभाउने दलिनमा दन्केर आगो बल्यो ।
उठ्दा वास बसाउने जनकको खाँचो असाध्यै प¥यो ।।

छैनन् डाक्टर दूर गाउँघरका मान्छे बिरामी परे ।
बाँच्ने चाह हुँदाहुँदै कति जना ओछ्यान पर्दा मरे ।।
कल्ले ल्याउँछ औषधी विकटको बाटो बिरानो भयो ।
कैले जाग्छ र कुम्भकर्णजसरी यो राजधानी सुत्यो ।।

लाग्दै छन् परदेश नागरिकता बेचेर हिँड्नेहरू ।
कैले देश बनाउँछौँ विगतमा सङ्कल्प गर्नेहरू ?
हाम्रा काँध युवा पलायन हुँदा त्यो खेत बाँभै बस्यो ।
दुख्दा चन्द्र र सूर्य अङ्कित ध्वजा सर्वाङ्ग हाम्रो दुख्यो ।।

टेक्ने ठाउँ रहन्न यो मुलुकको माटो कतै बेचिए ।
पुर्खाका बलिया धरोहर ढले छैनन् कि जोगाउने ?
वैरीपट्टि परेन सङ्गिन अहो ! आपूतिरै सोझियो ।
कैल्यै पूर्ण भएन देशप्रतिको दायित्व बाँकी रह्यो ।।

Nepal-Map-with-flag-Buddha


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको