अरुण पुल पिडितले लेखे प्रधानमन्त्री दाहाललाई खुला पत्र

मंसिर ३, २०७३

सम्माननीय प्रधानमन्त्री ज्यु
नेपाल सरकार, सिंहदरबार काठमाण्डौं ।

                                                               विषयः अरुण पुल पिडितको क्रन्दन

महोदय,

प्रधानमन्त्री ज्यु नमस्कार, म भोजपुरबाट अरुण पीडित सुरेश लम्साल । तपाईंले अस्ति मंसिर १ गते खोटाङ–ओखलढुंगा जोड्ने जयरामघाट पुल निर्माण चाँडै सक्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । त्यस बिषयले मलाई खुसि लागेको छ । किनकि जाम भएर बसेको विकास खोल्ने काम गर्नुभएको छ । तपार्इं यो मुलुकको दोस्रो पटक प्रधानमन्त्री हुँदैगर्दा तपार्इंले आफ्नो हितमा भन्दा पनि देश र जनताको हितमा रहेर काम गर्नुहुन्छ भन्ने आशा मैले लिएको थिएँ र लिएको छु ।

मैले जतिनै फुलबुट्टा भरेर चिठी लेखे पनि कुरा विकासकै हो । तपाईंले लामो समयदेखि निमार्ण सम्पन्न हुन नसकेको खोटाङ–ओखलढुंगा जोड्ने जयरामघाट पुल निर्माण चाँडै सक्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो तर त्यस्तै अर्को पुल छ भोजपुर र संखुवासभा जोड्ने अरुण नदिमा निमार्ण हुँदैगरेको तर हाल बेवारिसे बनेको पक्की पुल । जुन ठेकेदारको चरम लापरबाहीले गर्दा बेवारीसे बन्न पुगेको छ । आज नेपालको पहिलो महिला राष्ट्रपति भोजपुरको हुँदैगर्दा सो क्षेत्रमा पुल नभएकै कारणले नागरिकले चरम समस्या भोगेका छन् भन्न असुहाउँदो होला तर विकासका लागी वास्तविकता मैले प्रधानमन्त्री ज्यु समक्ष राख्नै पर्ने भयो ।

तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी विसं २०६८ मंसिरमा शिलान्न्यास भएको सो पुलको निमार्णकार्य ५ बर्षमा २० प्रतिशत पनि भएको छैन् । ‘तुम्लिङ्टार लम्छुवा दिङ्ला’ जोड्ने पक्की पुल निर्माण कार्य अलपत्र परेपछि आज संखुवासभा र भोजपुरका ३० हजार बढि नागरिक प्रत्यक्ष समस्यामा परेका छन् । पुल निमार्णकै लागि विनियोजित भएको १४ करोड बढि रकम बालुवामा पानी हाले सरह भएको छ । यो देख्दा मलाई दुख लागेर आएको छ । हामी समृद्ध नेपाल निमार्णको अभियानमा जुट्दै गर्दा कयाँै बर्ष एउटै पुल सम्पन्न गर्न लाग्छ । त्यही पुललाई राजनीति गर्ने ठाउँ बनाउने र विकासलाई अगाडि बढ्न नदिने जस्ता अभिप्राय आज ‘तुम्लिङ्टार लम्छुवा दिङ्ला’ जोड्ने पक्की पुल निर्माण कार्यमा देखिएको छ ।

हामी आम नागरिकहरु एउटा दुर्गम ठाउँदेखि आन्दोलन गर्नकै लागि काठमाडौं आउन सक्दैनौ । तर आज मैले हजारौँ नागरिकको प्रतिनिधित्व गर्दै यो पत्र लेखेर पठाएको छु । आशा छ तपाईं एक विकास प्रेमी प्रधानमन्त्री भएकै कारण मैले बर्षौंदेखि अलपत्र परेको पुल र जनताले त्यसबाट भोग्नुपरेको दुःख सुनाउन पाएँ । पुल नबनेकै कारण कयौँ विद्यार्थी विद्यालय जानबाट बन्चित भएको अवस्था छ । विद्यालय जाँदा पनि तीन घण्टाको पैदल यात्रा गर्नुपर्ने अवस्था छ । यस्ता कयौँ समस्या लिएर हामीले सडक डिभिजन कार्यलय तुम्लिङ्टारमा समेत एक महिने अल्टिमेटम दिएका थियौँ तर त्यसले पनि सुनुवाई नभए पछि तपाईंमाझ यो पीडा सुनाउन बाध्य भयौँ । पुल अभावले हरेक महिना जसो सुत्केरी महिलाको मृत्यु हुने गरेको छ ।

यस बेवारिसे पुललाई तत्काल सम्पन्न गर्न तपाईंले चाँडै निर्देशन दिनुहुनेछ र काम नगर्ने ठेकेदारलाई कारबाही गरी पुल निर्माण कार्य तदरुकताका साथ अगाडि बढाउन पहल गर्नु हुनेछ भन्नेमा मैले विश्वास लिएको छु ।

उही भोजपूरे पुल पीडित नागरिक
सुरेश लम्साल

suresh


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको