कांग्रेस नेता एवं पूर्व मन्त्री रामहरि जोशीको निधन, आज बिहान दाहसंस्कार गरिँदै

५ वर्ष अगाडि

नेपाली कांग्रेसका पुराना नेता एवम् पूर्वमन्त्री रामहरि जोशीको बिहीबार बेलुका निधन भएको छ । दम र निमोनियाको उपचारमा रहनुभएका नेता जोशीको बेलुका साढे ७ बजे ग्राण्डी अस्पतालमा निधन भएको उहाँका भतिजा विष्णु जोशीले जानकारी दिनुभयो ।

घरको शौचालयमा लडेर चोट लागेपछि उहाँलाई यही असार २१ गते अस्पताल भर्ना गरिएको थियो । सर्लाही स्थायी घर भएका उहाँ ललितपुरको नख्खीपोटमा आफन्तका घरमा बस्दै आउनुभएको थियो ।

विसं १९८३ मा सर्लाहीमा जन्मनुभएका नेता जोशी नेपाली राजनीतिमा गान्धीवादी र समाजवादी नेताका रुपमा परिचित हुनुहुन्थ्यो । नेता जोशीको शुक्रबार बिहान आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । कांग्रेसमा हालका नेतामध्ये सबैभन्दा पाका नेताका रुपमा रहनुभएका उहाँ अविवाहित हुनुहुन्थ्यो । आजीवन पार्टी र प्रजातन्त्रका लागि लडी करिब नौ वर्ष कारागारमा पर्नुभएका उहाँ विसं २०४८ को गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनुहुन्थ्यो । कांग्रेसले नेता जोशीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । रासस


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट