‘लाटीको छोरो’ बाबुचाहीँ को हो त ?

भदौ २४, २०७४

सुन्दर बजारको कथा हो। जसको सौन्दर्यतासँगको सम्बन्ध ठिक उल्टो थियो। केहीकेही त्यसरी नै, जसरी जलस्रोतको सबैभन्दा धनी देश नेपालको सम्बन्ध यहाँको लोडसेडिङ र खानेपानीको हाहाकारसँग छ।

सुरुमा त्यो डोम जातिको बस्ती थियो। जहाँ तिनीहरुले सुङ्गुर पाल्ने, हाटबजार सफा गर्ने, बाँसका भकारी, ढाकी, नाङ्लो बनाउने काम गर्थे। तिनका बस्तीभरि सुङ्गुरका र बस्तीबाहिर मानिसका बिष्टा परैबाट गन्हाउँथे। जब महेन्द्र राजमार्गले त्यस ठाउँलाई आफ्नो बाटोमा पार्‍यो, वरपरका गाउँ पञ्चायतका ठूलाबडा मानिसहरुका आँखा त्यहाँ पर्न थाले। तिनीहरु मिलेर सल्लाहले नै डोमहरुलाई त्यहाँबाट सारे। आफ्ना मानिसहरुलाई ल्याएर बस्ती बसाले। तिनीहरुले त्यहाँ ईनार खने, मन्दिर बनाए, स्कुल खोले। शनिबार र मङ्गलबार हाट लगाउन जिल्लाभरिका गाउँहरुमा डङ्कासमेत बजाए। दुई दिन र चार रातको छलफलपछि बल्ल नाम जुराए, सुन्दर बजार। यद्यपि आजका मितिसम्म पनि डोमका सुङ्गुरहरुले सुन्दर बजारमा आएर बिस्टाउन भने छाडेका छैनन्।

21270877_1645068338851162_5407314412745406937_n

अचम्म किसिमले शान्त थिए त्यहाँका मानिसहरु। त्यतिकै चिसा पनि थिए। देशको कुनै पनि राजनीतिक उथलपुथलहरुले कहिल्यै पनि त्यस ठाउँलाई छोएन। त्यहाँको सर्वमान्य नेता थियो बिसनाथ बाबु। देशमा जति पनि राजनीतिक परिवर्तन हुन्थे, ती सबैका प्रभाव अन्ततः बिसनाथ बाबुकोमा गएर टुङ्गिन्थे। पञ्चायतकालभरि ऊ खुङ्खार पञ्च थियो। २०४६ सालको सफल जनआन्दोलनपछि ऊ काङ्ग्रेस भयो। राजनीतिक पार्टीको प्रभावअनुसार आफू परिवर्तन भए पनि सुन्दर बजारबाट उसको प्रभाव भने कहिल्यै हटेन।

मानिसहरु भन्थे, उसका आँखा र दिमाग दुवै सैतानको छ। हुन पनि उसका आँखा पुरै सुन्दर बजारभरिमा बेग्लै थिए। निला तर गहिरा। मानिसहरु ठाडो आँखाले उसलाई हेर्दैनथे किनकि त्यसरी हेर्ने एकजना मानिस पनि सुन्दर बजारमा टिकेका थिएनन्।

त्यही बेला लाटी सुन्दर बजारमा देखा परी, जसले सुन्दर बजारका मानिसहरुमा तरङ्ग नै ल्याइदियो। त्यसबेलासम्म सुन्दर बजार एउटा चल्तीको बजार भइसकेको थियो। राजमार्गभन्दा उत्तर र दक्षिणका गाउँहरुको केन्द्रका रूपमा स्थापित भइसकेको थियो। लाटीले दिनभरि मागेर जम्मा गरेको खानेकुरा उसलाई चाहिनेभन्दा बढि नै हुन्थ्यो। त्यसैले ऊ त्यसपछि अन्त कतै पनि गइन।

स्वभावले जिद्दी थिई लाटी। त्यत्तिकै जण्ड पनि। उसको मुखबाट अ र आ बाहेक अरु स्वर उच्चारण हुँदैनथ्यो। तिनै स्वर उच्चारण गरेर ऊ केही न केही गुनगुनाइरहन्थी। ऊ कहाँबाट कसरी आई, कसैले थाहा पाएन। त्यसभन्दा अगाडि पनि सुन्दर बजारमा पागलहरु नआएका होइनन्। तर अहिलेसम्म त्यति उमेरकी तरुनी केटी पागल भएर आएकी थिइन। यदि ऊ लाटी हुँदिनथी भने अहिले कुनै राम्रो घरमा बिहा गर्न ठिक्क परेकी केटी हुन्थी। एउटा कारण यही पनि थियो, जसले गर्दा त्यहाँका मानिसको ध्यान लाटीले तानेकी थिई।

सुरुमा त त्यहाँका केटाहरु लाटीको पछाडि रमिते भएर नै मडारिन थाले। तिनीहरुले लाटीलाई चिढिने गरी जिस्काउँथे। लाटी धारे हात लाउँदै आफ्नै शैलीमा गाली गर्थी। अनि आजित भएर जथाभावी ढुङ्गाले हिर्काउँथी। तर केटाहरुले जिस्काउन छाड्दैनथे। ऊ आफैं चिच्याउन थाल्थी। आफ्नै कपाल लुछ्न थाल्थी। आवेशमा गुप्ताङ्ग खोलेर देखाइदिन्थी। अनि मात्र केटाहरु खितिति हाँस्दै त्यहाँबाट हिँड्दथे।

लाटी सबैभन्दा बढी अराजक माग्ने बेलामा हुन्थी। नदिउन्जेलसम्म झर्को लाग्ने गरी कराइरहन्थी। कसैले उसलाई धपाउन लठ्ठी उज्याउँथे, कोही पानी खन्याउन खोज्थे। तर लाटी डराउन्नथी। धारे हात लगाउँदै गाली गर्थी। त्यतिले नमाने ढुङ्गा टिपेर हिर्काउन खोज्थी। मानिसहरु आजित भएर पहिले नै दिन थालेका थिए। तिनीहरुले प्रहरीमा उजुरी पनि हाले। तर लाटीलाई थुनामा राख्ने कसरी? प्रहरीले उसलाई जगल्टाएर धपाउन खोजे। तर लाटी पनि कम थिइन। उसले पनि उनीहरुलाई ढुङ्गाले हिर्काई। त्यसपछि मानिसहरु आफ्ना सर्वमान्य नेता बिसनाथ बाबुकहाँ गए। तर बिसनाथ बाबुले भने उल्टै तिनीहरुलाई नै सम्झाइबुझाइ पठाए।

21271234_1645069252184404_6213848561788580197_n

त्यसपछि लाटी त्यहाँ बिसनाथ बाबुपछि सर्वाधिक प्रभावशाली भई। मानिसहरु तिनलाई पर देख्नेबित्तिकै खानेकुरा ठिक पार्न थाले। प्रहरीहरु तिनलाई देख्नेबित्तिकै तर्किन थाले। तर त्यहाँका केटाहरुले भने अझै पनि आफ्ना आफन्तहरुबाट लुकेर लाटीलाई जिस्काउन छाडेनन्।

जब लाटीको पेट उठेको देखियो, सुन्दर बजारमा एक किसिमको भुइँचालो नै आयो। प्रत्येक मानिसका मुखबाट लाटीको पेटको चर्चा सुनिन थाल्यो। कसैका लागि त्यो ठट्टाको विषय बन्यो। कसैका लागि त्यो सामाजिक प्रतिष्ठाको विषय पनि बन्यो। केही बुद्धिजिवी जो आफूलाई समाजिक रूपले प्रतिष्ठित ठान्थे, तिनीहरुले लाटीलाई पेट बोकाउने मानिसको खोजी गरिपाउँ भनेर थानामा निवेदन हाले। पटकपटक बिसनाथ बाबुकहाँ पञ्चायती बसाउनका लागि धाउन थाले। तर कोहीकोही भने नराम्ररी झस्के। जसका रातका निन्द्रा समेत गायब भए। यो तिनै मानिसहरुको कथा पनि हो।

यो नाटकमा केनिपा सिंह, पशुपति राई, सन्देश लामिछाने, रियर राई, प्रकाश दाहाल, रोशन सुवेदी, राजन काफ्ले, सुदीप खतिवडा, आयान खड्का, मिलन कार्की, अर्चना पन्थी आदिले समेत अभिनय गरिरहेका छन् । नाटक लाटीको छोरा असोज ८ गतेसम्म मञ्चन हुने बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको