धर्तीको स्वर्ग : सय थुम्का डाँडा मिलेर बनेको शैलुङ

मंसिर ७, २०७५

रामेछाप र दोलखा जिल्लाको सीमामा अवस्थित शैलुङ डाँडा समुन्द्र सतह देखि ३१४५ मीटरको उचाइमा रहेको छ । ऐतिहासिक, धार्मिक र साँस्कृतिक रुपमा महत्वपूर्ण अर्थ राख्ने यो क्षेत्र साँस्कृतिक पर्यटनको दृष्टिले पनि त्यतिकै महत्वपूर्ण बन्दै गएको छ ।

यहाँबाट चारैतिर देखिने हिमश्रृङ्खलाहरु र मौसम अनुसारको वनस्पतीले छुट्टै अनुभूति दिलाउँछ । यहाँबाट विहानीपख सूर्याेदय (sunrise) को दृश्य अत्यन्तै लोभलाग्दो देखिन्छ । त्यसैगरी वसन्त ऋतुमा यस भेगमा फूल्ने विभिन्न प्रजातिका लालीगुराँस र सेतो चिमल सहित अन्य फूलहरु आकर्षणको मुख्य पक्ष मान्न सकिन्छ ।

त्यस बाहेक आँखाले नभ्याउने पहाडी वस्तीहरु र वस्तीहरुमा हुने विविध जातजातीका आ–आफ्नो भौतिक धार्मिक, साँस्कृतिक र सामाजिक व्यवहारहरुले अलग्गै विशिष्ट महत्व बोकेको छ । अझ पहिल्लो समय यो क्षेत्र आदिबासी जनजाति पदमार्गको महत्वपूर्ण मार्गको रुपमा विकास भएको छ ।

सिन्धुपाल्चोक जिल्लाको मुडेबाट सुरु भइ देउराली, लामाघ्याङ, चाइछाप, ढुङ्गे हुँदै पदयात्राको खण्डमा पर्ने यो मुख्य गन्तब्य स्थाल पनि हो । यो क्षेत्र हुँदै खोलाखर्क, डडुवा, दोरम्बा, गाल्बो, साधीडाँडा, लुभुघाट भएर सिन्धुली जिल्लाको वि.पि राजमार्ग अन्तर्गत पर्ने नेपालथोकमा पुगेर पदयात्रा सम्पन्न हुन्छ ।

यस क्षेत्रमा तामाङ, शेर्पा, नेवार, मगर, थामी, क्षेत्री ब्राम्हण, गुरुङ, दलित र पहरी आदि जातिको बसोबास रहेको छ । विशेषगरी भदौ पूर्णिमाको दिनमा विशेष मेला लाग्दछ । जसलाई शैलुङजात्रा तथा स्थानीयहरुले गोन्ग्या पूर्णिमाजात्रा पनि भनिन्छ । त्यसैगरी कार्तिक पूर्णिमा, बुद्धजयन्ती, र नयाँवर्षको दिनमा पनि विशेष मेला लाग्दछ ।

शैलुङ पर्वतको उत्तरपट्टि शैलुङेश्वर (कामेश्वर) गुफा रहेको छ । यो प्राकृत बोन, शैव र बौद्धसमेतकोे आस्थाको साझा पुज्यस्थल हो । बौद्ध लामाहरु यो पर्वतको शीरमा ७ औं शताब्दीमा गुरु पद्यसम्भवले पदार्पण गरेको कुरामा विश्वास गर्छन । प्राकृत बोनहरु यो पर्वत (सेलयुङ) नै देवताको प्रतिक मान्दछन् । बोनहरुको लागि सेलयुङ (दर्शनढुङ्गा) पनि एउटा दैवी प्रतिक हुन् ।

शैलुङको दक्षिणी भागमा रहेको स्वर्णगुफामा यस पर्वतको संरक्षण गर्ने एकदन्ते देवी विराजमान रहेको विश्वास गरिन्छ । त्यसैगरी यस पर्वतको चारैदिशातर्फ विभिन्न वर्ण, आसन र मुद्रामा देवीदेवताहरु पर्वतको रक्षार्थ बसेकाले यस्तो पवित्र स्थान बौद्धहरु तन्त्र साधनाका निम्ति अति उत्तम थलो मान्ने गर्दछ ।
अझ यस भेगका स्थानीय तामाङ जातिका लागि शैलुङले धार्मिक, सामाजिक र साँस्कृतिक रुपमा विशेष अर्थ राख्दछ ।

यस अर्थमा शैलुङ सम्बन्धी थुप्रै स्थानीय मिथहरु प्रचलनमा रहेका छन् । यो लेकमा चुचुरोमा सयवटा थुम्काहरु भएकाले यस नाम शैलुङ रहन गएको भन्ने एक खाले जनश्रुति छ । हिमाली भाषामा थुमलाई ‘लुङ’ पनि भनिन्छ अथवा ठूलो पर्वतमालाहरु । त्यस्तै अर्काथरी जनश्रुति अनुसार सेलयुङ गाङ अर्थात दर्शनढुङ्गे डाँडा (Crystal Mountain) पनि भनिन्छ । यसबाट शैलुङ पर्वत सेलयुङ् गाङ अर्थात दर्शनढुङ्गे पर्वतको अर्थमा पनि बुझ्न सकिन्छ ।

अर्काे पक्षबाट शैलुङ वरिपरिको प्राकृतिक बनौटलाई लिएर साही लुङ अर्थात भू–श्रृङ्खला वा भूमि साङ्ला भनि अथ्र्याउने गर्दछन् । त्यसो त महाभारत पर्वत श्रृङखलाको उत्तरपट्टि र हिमालय पर्वतको वरिपरि घेरिएको आकारमा रहेका छन् । शैलुङ देववाणीको अर्थमा पनि प्रयोग भएको पाइन्छ ।

त्यस्तै धार्मिक पक्षबाट यस पर्वतलाई से (बोन संकेत ध्वनिको अर्थमा देवता) र लुङ (आगम) बोलि हुन् । यो अर्थमा देवागम अर्थात शैलुङ पर्वत भनिएको भन्ने मान्यता पनि प्रचलित छ । साथै बुद्ध तथा बोधिसत्वहरुले अधिष्ठान गरेको तपोभूमिको रुपमा पनि चिनिन्छ ।

शैलुङ सम्बन्धी थुप्रै जनश्रुतिहरु र त्यसमा अडिएको धार्मिक पृष्ठभूमिको अध्ययनले पनि यो क्षेत्र बुद्ध तथा बोधिसत्वहरुले अधिष्ठान गरेको तथा देवहरुको पनि पवित्र देवभूमिको रुपमा रहेको मान्न सकिन्छ । पूर्वकालदेखि अहिलेसम्म पवित्र पुण्यभूमिको रुपमा यस भेगका स्थानीयहरुको गहिरो आस्था, श्रद्धा र विश्वासले यस कुराको पुष्टि गरेको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट