रोगीको सेवामा अब्बल बन्दै जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र

माघ १२, २०७५

काठमाडौ – नेपाली काँग्रेसका नेता गिरीजाप्रसाद कोईरालाको नाममा स्थापना भएको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले सेवा बिस्तारका काम तीव्र गतीमा अघि बढाएको छ ।

केन्द्रले सेवा बिस्तारकै क्रममा आफ्नै फार्मेसी सञ्चालन गरेको छ । तनहुँको दुलेगौंडामा रहेको यो अस्पतालमा असार एक देखि आवश्यक औषधीको सेवा प्रदान गर्ने हिसावले फार्मेसी सञ्चालनमा आएको छ । कुनै पनि सरकारी अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्नु पर्ने अनिवार्य नियमपछि यो सेवा सुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले अनुगम गरेपछि फार्मेसी सञ्चालन गरिएको हो । सुरुमा नेपाल सरकारले फार्मेसी सञ्चालनका लागि २० लाख रुपैयाँ पूँजी उपलब्ध गराएपछि काम सुरु भएको छ । सेवा सुरु भएसँगै आसपासका बिरामीहरुले अस्पताल हाताभित्र नै सरल र सहज ढंगले औषधीको सुबिधा पाएको फार्मेसी ईन्चार्ज मुकेन्द्रप्रसाद यादवले बताए ।

नेपाल सरकारले कोईरालाको सम्मानमा अस्पताल स्थापना गर्ने आवश्यकता महसुस गरेर तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पहलमा यो अस्पतालमा स्थापना भएको हो । नेपालमा मुटु रोग अस्पताल, क्यान्सर रोगको अस्पताल, मृगौलाको अस्पताल भएपनि फोक्सो रोगको पनि एउटा अस्पताल स्थापना गर्न आवश्यक देखिएकोले यो अस्पताल स्थापना भएको थियो । तनहुँमा ७ सय रोपनी जग्गा केन्द्रको नाममा रहेको छ । स्वास्थ्य मन्त्रालयले मन्त्रीपरिषद्को निर्णय मार्फत सामुदायिक अस्पताल जिम्मा लिएर हस्तारण गरेको यो अस्पताल अहिले ३० वेडसम्ममा सेवा प्रवाह भईरहेको छ ।

नेपाली नागरिकहरुले फोक्सोको उपचारका लागि विदेशमा जान नपरोस् भन्ने उदेश्यले स्थापना भएको अस्पताल भएका कारण पनि त्यहाँ रहेको सामुदायिक अस्पताल नेपाल सरकारमार्फत केन्द्रको स्वामित्वमा ल्याएर सेवा प्रदान गरिएको वताईएको छ । अस्पताल ब्यवस्थित हुँदै गएपनि अहिले बजेटको समस्या रहेको छ । पूर्वाधार निर्माणको लागि बजेट आवश्यक रहेको अस्पतालस्रोतले जनाकारी दिएको छ । स्वासप्रश्वास अस्पताल सञ्चालन गर्नको लागि यो सम्बन्धि विशेषज्ञ चिकित्साकहरुको आवश्यक परेको छ । विशेषज्ञ चिकित्सकहरुलाई आफ्नै स्रोतबाट पाल्न सक्ने अवस्था नभएको कारण पनि समस्या देखिएको छ ।

पूर्वाधार विकास सँगै दक्ष जनशक्ति उत्पादनको कार्यलाई प्राथमिकमा राखेको सञ्चालक समितिले जनाएको छ । अन्य अस्पताल राजधानी केन्द्रित भएको कारण ठूला ठूला डाक्टर राजधानी नै बस्न रुचाउने भएकोले राजधानी बाहिर अस्पताल सञ्चालन गर्न चुनौती रहेको छ ।
यो अस्पताल सरकारी भएका कारणले नेपाल सरकारको नियम कानून भन्दा बाहिर जान नमिल्ने भएकाले पनि सेवा सुबिधाको बिषयमा समस्या रहेको उनीहरुको भनाई छ । साथै आवश्यक उपकरणका लागि पनि मन्त्रालयमा पहल भईरहेको छ । यसलाई प्रतिष्ठान तहको रुपमा विकास गर्ने योजना सञ्चालकहरुको छ । नेपाल सरकारले सातै प्रदेशमा मेडिकल कलेजसहितको अस्पताल स्थापना गर्ने लक्ष्य लिएको र एउटा प्रतिष्ठान यसैलाई वनाउनका लागि पहल भईरहेको छ ।

विशेषज्ञ सेवा उपलब्ध गराउने, विशेषज्ञ जनशक्ति उत्पादन गर्ने, नर्सिङ कलेज पनि सञ्चालन गर्ने र कर्मचारीहरुको आवाससहितको व्यवस्थित ढंगको उच्च स्तरीय सुबिधाको भौतिक पूर्वाधार निर्माण गर्ने योजना अस्पतालले लिएको छ । यहाँ कुनै पनि नेपालीले नेपालमै विदेशमा पाए सरहको फोक्सोको उपचार पाउने ब्यवस्था गर्न लागेको वताईएको छ । उपचारको लागि नेपाली रकम बिदेश लैजाने क्रम घटाउने योजनामा यो अस्पताल रहेको छ । पर्याप्त जमिन तथा पूर्वाधार भएको नेपालको राजनीतिक इतिहासका उच्च ब्यक्ति गिरिजाप्रसाद कोईरालाको नाममा रहेको यो अस्पताललाई सरकारी पक्षवाट भने आवश्यक सहयोग भएको पाईदैन । यसको बिकास र विस्तारका लागि नेपाल सरकारले बिशेष योजना नै अघि सार्नु पर्ने स्थानीयवासिन्दाको पनि माग छ । पछिल्लो समय सरकारले प्रादेशिक सरकार मातहत लैजाने योजना वनाएपछि भने स्थानीयहरु निराश छन् । संघीय सरकारले नै यसको ब्यस्थापन गरेर आधुनिक सेवा प्रवाह गर्न सके आफूहरुले राम्रो सेवा पाउन स्थानीयको भनाई छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट