१२ वर्षकै उमेरमा बर्षा बिक अस्पतालको बेडमा, जीवन मरणको दोसाँधमा

फाल्गुन २३, २०७५

गुल्मी जिल्लाको रुरु गाउँपालिका वडा नम्बर ३ पानी टंकी घर भएकी वर्षाको दुवै मृगौला फेल भएपछि उनलाई शिक्षण अस्पताल भर्ना गरिएको हो । गाउँमै ज्याला मजदुरी गरेर जिविको पार्जन गर्दै आएका वर्षाको परिवारलाई उपचार गर्न आर्थिक अभाव छ । १२ वर्षिया वर्षा विकलाई हातमा कपी कलम बोकेर अन्य साथीहर जस्तै तन्दुरुस्त भएर स्कुल जाने रहर छ । तर, उनको रहर फक्रने शरीर भने विगत लामो समयदेखि महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालको बेड नम्बर ९०६ मा ‘बाँच्ने’ सपना देखिरहेको छ ।

करिब २ महिना अघि बैदेशिक रोजगारीको शिलशिलामा दुबई पुगेका उनका बुवा चन्द्र बहादुर बिक बिदेश जाँदा लागेकोे ऋण समेत तिर्न नपाँदै घर फर्किर्नु पर्यो । उनी घर बनाउँदा लागेको ऋण र छोराछोरीको पढाई खर्च जुटाउनका लागि बिदेश गएका थिए । तर दुबई पुगेको केही दिनमै छोरीको दुवै मृगौला फेल भएको र डायलाइसिस गर्नुपर्ने खबर सुनेपछि उनी आत्तिए । वर्षाकी आमा सिता विकले रुँदै फोन गरेपछि चन्द्र बहादुर घर फिरेका थिए छोरी बचाउने अभिप्सा पालेर । तर छोरीको उपचारमा गाउँबाट खोजेर ल्याएको ऋण समेत सकिएपछि भने आर्थिक अवस्थाकै कारण बचाउन नसकिने हो की भन्ने चिन्ताले परिवारलाई सताएको छ ।

शिक्षण अस्पतालले वर्षाको दुवै मृगौला काम नलाग्ने गरी विग्रीएको मृगौला अन्तिम स्थितिमा पुगेको र उक्त उपचारमा धेरै खर्चिलो हुने सिफारिस गरेको छ । गत साउन १६ गते भर्ना भएकी उनको मृगौला उपचारका लागि डायलायसिस वा प्रत्यारोपण गर्नुपर्ने त्रिवि शिक्षण अस्पतालका बाल रोग तथा मृगौला रोग विशेषज्ञ डा. दमनराज पौडेलले बताएका छन् । उहाँको रिपोर्टहरु अध्ययन गर्दा उहाँलाई लामो समयदेखि मृगौला रोगको उपचारका लागि डायलायसिस वा मृगौला प्रत्यारोपण गर्नुपर्ने देखिन्छ, त्रिवि शिक्षण अस्पतालद्वारा लिखित सिफारिसमा भनिएको छ ।

छोरी बचाउने सपना बोकेर नेपाल फिरेका चन्द्र बहादुरलाई उपचार खर्च जुटाउने पिरलो छ । छोरीको रोग भन्दा पनि उपचारमा लाग्ने खर्च जुटाउन सकुँला जस्तो छैन । छोरीलाई बचाउन पाए हुन्थ्यो चन्द्रले दियोपोस्टसँग भने म आफै बेचिएर भएपनि छोरीलाई बचाउन चाहान्छु । उनलाई बचाउनका लागि करिब १५ देखि १८ लाख रुपैयाँसम्म खर्च लाग्ने डाक्टरले बताउँदै आएका छन् । अस्पताल प्रशासनले भनेजति रकम जुटाउन चन्द्र बहादुर दम्पतीलाई मुस्किल छ । “सम्पतीको नाममा गाँउमा रहेको एउटा सानो घर र पाखो बारी मात्रै हो । बेचेरै उपचार खर्च जुटाउ भने पनि त्यसको कुनै मुल्य छैन” पीडा पोखे । १५ दिन यता दिनहुँ डायलासिस गर्नु परेको छ । डाइलासिस फ्री भनिए पनि अन्य औषधी आफैले किन्नु पर्ने भएकाले खर्च जुटाउन गाह्रो भएकोे उनले बताए ।

उपचारका लागि रकम जुटाउन नसकेको भन्दै चन्द्र बहादुरले छोरीलाइ उपचार नै नगरी घर फर्काउनुको बिकल्प नरहेको बाध्यता सुनाए । भन्छन्–बिहान बेलुकीे हातमुख जोर्न समस्या हुने हामी जस्ता गरिबलाई ठुलो रोग नलागे नि हुने । आफ्नै आँखा अगाडी छोरी छट्पटाएको देख्दा चन्द्र बहादुर दम्पतीलाई असैह्य पीडा हुने गर्छ । तर, सहनुको बिकल्प छैन उनीहरुलाई ।गाँउकै स्थानीय स्कुलमा कक्षा ५ मा पढ्दै गरेकी वर्षा पढाइमा अव्वल थिइन् । आफुलाई अस्पतालमा के कारणले राखेको हो भन्ने समेत उनलाई हेक्का थिएन । डाक्टर र अभिभावकको कुरा सुनेर आफ्नो रोगको बारेमा थाहा पाएकी उनलाई छिट्टै निको भएर घर फर्किने रहर छ । त्यो भन्दा बढी रहर त आफ्ना साना २ जना भाइहरुलाई हातमा समातेर स्कुल जाने र साथीहरु संग खेल्ने रहर छ ।

तर उनका सपनामाथि रोग पहाड बनेर उभिएको छ । जीवन मरणको दोसाँधमा उभिएकी वर्षालाई नयाँ जीवन पाउने आशा पनि त्यत्तिकै छ । ‘पढेर असल मान्छे’ बन्ने उनको सपना अझै मरेको छैन । अस्पतालको बेडमा आफ्ना स्कुलका सहपाठीलार्ई निकै सम्झिन्छिन् उनी । स्कुल जाने र पढाई पुरा गर्ने रहर पनि उत्तिकै छ । अस्पतालको शैयामै किताव छेउमा राखेर खाफ्नो यस्तो अवस्थामा १२ वर्षकै कलिलो उमेरमा बर्षा बिक अस्पतालको बेडमा जीवन मरणको दोसाँधमा छिन ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट