अर्थ मन्त्रिले भने देशमा गाडी उद्योग खोल्नुस् सरकारले कर छुट दिन्छ ,

३ वर्ष अगाडि

काठमाण्डौ – अर्थमन्त्री डाक्टर युवराज खतिवडाले देशको आर्थिक विकासको लागि सवारी साधन आवश्यक भए पनि मात्रा भने धेरै बढाउन नहुने बताउनु भएको छ । नाडा अटो शोको उदघाटन समारोहमा उहाँले अरु क्षेत्र कमजोर हुने गरी गाडी आयात मात्रै गर्न नहुने बताउनुभयो ।

गएको १० वर्षमा अटो व्यापार बढेको भन्दै उहाँले तीव्र आर्थिक वृद्धिको अवस्थामा धेरै गाडी आयात फाइदाजनक नहुने बताउनुभयो । अब सबै गाडी आयात गरेर बेच्ने भन्दा पनि देशमै गाडी ‘एसेम्बल’ गर्न अर्थमन्त्री खतिवडाले व्यवसायीलाई आग्रह गर्नुभयो । जुनसुकै देशमा पनि पहिला ‘एसेम्बलिङ’ हुने र पछि बल्ल गाडी कम्पनी नै खुल्ने गरेको भन्दै उहाँले सरकारले यस्ता उद्योगलाई कर छुट दिने बताउनुभयो ।अर्थमन्त्री खतिवडाले तत्कालै पेट्रोल डिजेलबाट चल्ने गाडी विस्थापन गर्न नसकिने भए पनि विद्युतीय गाडीको उपयोग बढाउन आग्रह गर्नुभयो ।

सडकको कारण गाडी चलाउन र बिक्री वितरणमा असर पुगेको स्वीकार गर्दै मन्त्री खतिवडाले काठमाण्डौमा मेलम्ची खानेपानीका सबै पाइप परीक्षण नगरेसम्म सडक चिल्ला हुन नसक्ने बताउनुभयो । उहाँले विभिन्न निकायबीचको समन्वय नहुँदा पनि काठमाण्डौका सडक राम्रो नभएको समेत बताउनुभयो । मन्त्री खतिवडाले यसपटकको बजेटमा शिक्षापछि सबैभन्दा धेरै बजेट भौतिक पूर्वाधार क्षेत्रमा छुट्ट्याएकोले अब सुधार हुने दाबी गर्नुभयो ।

नेपालकै ठूलो सवारीसाधन प्रदर्शनी मेला नाडा अटो शो राजधानी काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको छ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट