अनिश्चितकालका लागि बन्द भएका नेपाली बैंकका एटिएम सुचारु

चक्र प्रसाद पोख्रेल ३ वर्ष अगाडि


काठमाडौं –शनिबार राति प्रहरीले नबिल बैंकको एटीएमबाट ठूलो रकम निकालिरहेको अवस्थामा ५ जना चिनियाँ नागरिकहरुलाई दरबारमार्ग क्षेत्रबाट पक्राउ गरेको थियो । घटनापछि इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) मा आवद्ध १५ भन्दा बढी बैंकले आफ्नो सेवा अनिश्चितकालका लागि बन्द गरेको थियो ।अहिले अन्य बैंकको एटिएम सञ्चालनमा आएता पनि प्रभु बैंक र एनआईसी एसिया बैंकको एटिएम संञ्चालनमा आएका छैनन् । यि बैंकको एटिएम पूर्ववत अवस्थामा आउन केही समय लाग्ने जनाइएको छ । ती दुई बैंकहरुको केही प्राविधिक कामहरु बाँकी भएकाले सर्भर अहिले पनि डाउन नै भएको नेपाल राष्ट्र बैंकले बताएको छ ।
साथै एटीएम सेवा चले पनि अर्को बैंकको एटिएमबाट पैसा निकाल्न भने बन्द भएको बैंकहरुले बताएका छन् । ग्लोबल आईएमई बैंकका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले अन्य बैंकको रकम भने निकाल्न नमिल्ने बताए ।धेरै समस्या समाधान भइसकेको भए पनि अझै केही समस्याहरु भने बाँकी रहेको बैंकर एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए । बाँकी समस्या समाधान गर्ने कोसिस भइरहेको उनको भनाइ छ ।
एटीएममा कसरी समस्या आयो, अब के गर्ने भन्ने विषयमा २ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिइने उनले बताए । उनका अनुसार, महानगरीय प्रहरी परिसरमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बैंकर एशोसिएसनका प्रतिनिधिहरु समेत बस्नेछन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट