यो बर्ष दशैँमा उपत्यकाभित्र मासुको अभाव नहुने

३ वर्ष अगाडि

काठमाडौं – यस वर्षको दशैँमा उपत्यकाभित्र मासुको अभाव हुन्छ भन्ने समाचारमा कुनै सत्यता नरहेको पशुपक्षी विभागले जनाएको छ ।

केही दिनदेखि केही सञ्चार संस्थाले दशैमा मासुको अभाव हुन्छ भन्ने समाचार प्रकाशन तथा प्रसारण गरेपछि पछिल्लोपटक विभागले सो प्रतिक्रिया दिएको हो ।

उपत्यकामा झण्डै ३५ देखि ४० लाख मानिसको बसोबास रहेको अनुमान छ । नागढुङ्गा प्रहरी चेकपोष्टले दशैमा झण्डै २० देखि २५ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेको छ भने विदेशबाट स्वदेश आउने अधिकांश मानिस गाउँनै फर्किने गर्छन् । उपत्यका ट्राफिक प्रहरीका अनुसार गत वर्षको दशैँमा २५ लाख मानिस उपत्यकाबाट बाहिरिएका थिए ।

दशैँको अष्टमीदेखि दशमीसम्म तीन दिन उपत्यकामा मासुको धेरै माग र खपत हुने गर्छ । जसका लागि मासुको अभाव हुन नदिन पशुपक्षी विभागले आयातमा प्रतिबन्ध नलगाएको तर विदेशबाट आयातीत पशुपक्षीको अनिवार्य पशु क्वारेन्टाइन जाँच पास हुनुपर्ने व्यवस्था रहेको पशुपक्षी विभागका महानिर्देशक वंशी शर्माले बताए । पशुपक्षीविज्ञका अनुसार चौपाया तथा पक्षीलाई यातनापूर्वक ओसारपसार गर्न नपाइने कानूनी प्रावधान रहेको छ ।

व्यापारीले उपत्यकामा तराईका २२ जिल्लालगायत सुर्खेत, सल्यान, रुकुम, दाङ्, बाँके, बर्दिया, सिन्धुली, रामेछाप, काभ्रे, नुवाकोट, धादिङलगायतका जिल्लाबाट खसी बोका र मनाङ, मुस्ताङ, रसुवा तथा तिब्बतबाट भेडा, च्याङ्ग्रा बिक्रीका लागि ल्याउने गर्छन् ।

तीन दिन दशँैमा माछा, भेडा, च्याङ्ग्रा, खरायो, हाँस, लौकाट, अष्ट्रिच, बङ्गुर, सुँगुर, र बदेलको मासु पनि खपत हुन्छ । माछा १५ देखि २० लाख, भेडा झण्डै तीन हजार, बङ्गुर २४ हजार, च्याङ्ग्रा करीब दुई हजार मेट्रिक टन मासुका लागि तयारी अवस्थामा रहेको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट