प्रचण्ड भन्छन्,सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गर्ने बेला भएको छैन

३ वर्ष अगाडि

काठमाडौँ –  सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले पछिल्लो पटक सार्वजनिक गरेको राजनीतिक नक्साले वर्षौँदेखि रहँदै आएको सीमा विवाद सुल्झाउनका लागि नकारात्मक रुपमा सहयोग गरेको बताएका छन् ।

बैठकमा प्रचण्डले सीमा विवाद अहिले नै अन्तर्राष्ट्रियकरण गर्ने बेला नभएको पनि बताए । समितिकी सभापति शशी श्रेष्ठले सीमा विवादलाई अन्तर्राष्ट्रियस्तरमा लगेर भए पनि समाधान गर्नु पर्ने कुरा उठेको बताएकी थिइन् । त्यसको जवाफमा प्रचण्डले भने, ‘अहिले नै अन्तर्राष्ट्रियकरण गर्ने बेला भएको छैन । आपसी छलफलबाटै समस्या समाधान गर्नु पर्छ । अन्तर्राष्ट्रियस्तरमा लैजाँदा समाधान हुनुको साटो झन समस्या थपिन्छ ।’

नेपालको कुनै पनि भूभाग कुनै सरकार वा राजा–महाराजाले कसैलाई नदिएको दाबी गरेको प्रचण्डले सीमा समस्याको समाधान कूटनीतिक रुपमा खोजिनु पर्ने बताए । सुगौली सन्धिले नै स्पष्ट रुपमा भनेकाले लिम्पियाधुरा–लिपुलेक–कालापानी नेपालको हो या होइन भन्ने विवादको विषय नै नरहेको र ती क्षेत्र नेपालकै रहेको प्रचण्डले बताए ।

प्रधानमन्त्रीहरुको भारत भ्रमणका बेला सीमाको कुरा उठ्दै आएको उनले बताए । उनले भने, ‘भारतसँगको अधिकांश ठाउँको सीमा समस्या समाधान भए पनि कालापानी र सुस्ताको विषय चाहिँ समाधान हुन सकेको छैन ।’

बैठकमा भूमि सुधार मन्त्री पद्मा अर्यालको पनि सहभागिता थियो । उनले समस्या समाधानका लागि सबै पक्षसँग छलफल गरिरहेको बताइन् । यस्तै बैठकमा उपस्थित भएका गृहमन्त्री रामबहादुर थापा बादलले सीमा रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताए ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट