नेपाल भ्रमण वर्ष २०२० को तयारी अष्ट्रेलियामा

२ वर्ष अगाडि

काठमाडौँ –  नेपाल सरकारले तय गरेको नेपाल भ्रमण वर्ष २०२० को अस्ट्रेलियामा विशेष तयारी सुरु भएको छ । अस्ट्रेलियामा भएका नेपाली कुटनीतिक नियोगहरु आ-आफ्नो अनुकूलतामा नेपाल भ्रमण वर्षको प्रवर्धनात्मक कार्यक्रम गर्ने तयारीमा छन् भने गैरआवासीय नेपाली संघसहित अष्ट्रेलियाका नेपाली सामाजिक संघसंस्था र व्यवसायीहरु ती नियोगका कार्यक्रमहरुमा सक्रियतापूर्वक सहभागी हुँदैछन् ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले आफ्ना सदस्य खेम शर्माको संयोजकत्वमा ‘नेपाल भ्रमण वर्षको पहिलो दिनमै नेपाल पुगौं’ भन्ने अभियान सुरु गरेको छ । आफ्ना करिब १२ हजार सदस्यहरु तथा अष्ट्रेलियाको नेपाली समुदायलाई अपिल गर्दै गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका महासचिव डा. ज्ञानेन्द्र रेग्मीले भनेका छन्- हामी यो ऐतिहासिक अवसरमा जनवरी १ को बिहान ११ः२५मा काठमाडौं आइपुग्ने पहिलो जहाजमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रन सबै सदस्यहरुलाई आह्वान गर्दछौं ।

‘अष्ट्रेलिया-नेपाल गौरवमय यात्रा २०२०’ नामाकरण गरेर यो अभियानका संयोजक खेम शर्माले सबै सामाजिक संघ संस्था, व्यवसायी, अष्ट्रेलियन मित्रहरु र कूटनीतिक नियोगहरुलाई सोही दिन काठमाडौं पुग्न अनुरोध गरेका छन् ।

विभिन्न बिपत तथा दुःखका बेला प्रवासी नेपालीहरु एकजुट भएजस्तै राष्ट्रिय समृद्धिको अभियानमा पनि हामी जनस्तरबाट एकजुट हुन आवश्यक छ । त्यसैले हामी कम्तिमा एकसय नेपाली र हाम्रा अष्ट्रेलियन मित्रहरु जनवरी १ मा काठमाडौं पुगेर भिजिट नेपाललाई सफल पार्ने सन्देश दिने छौं ।

यो अभियानको तयारीकै क्रममा जुटेका गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिका पूर्वयुवा संयोजक विजय पोखरेलले  भने-नेपाल सरकारले तय गरेको राष्ट्रिय अभियानलाई सफल पार्ने हामी बाहिर भएका नेपालीको स्वतःस्फूर्त जिम्मेवारी, कर्तव्य र भूमिका हुन आउछ ।

उनले यो सुरुवातको अभियान मात्रै भएको र यसको प्रभाव विश्वभरिका नेपालीमा पर्ने बताए । नेपाल बाहिर हुर्केको दोस्रो पुस्तालाई उनले आफ्ना एक साथि पनि नेपाल लिएर जाऊ भन्दै उत्प्रेरित गर्नु पर्ने बताए । गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समितिले पनि जनवरी १ मै नेपाल पुगौं भन्ने अभियानलाई सम्मान गर्ने उनले बताए ।

यो अभियानको क्रममा जोडिएका सिड्नीका व्यवसायी युवराज भट्टराईले जनवरी पहिलो दिनमै नेपाल पुगेर राष्ट्रिय अभियानमा सामेल हुने सकारात्मक योजना मन परेर तत्काल निर्णय लिएको बताए । उनी सिड्नीमा सबैभन्दा बढी नेपाली बसोबास गर्ने इलाका रक्डेलमा बिगत दुई दशकदेखि स्थापित र अष्ट्रेलियाको बहुसाँस्कृतिक समुदायसँग बलियो सम्बन्ध भएका नेपाली मूलका अष्ट्रेलियन हुन् ।

यो अभियानमा हालसालै नेपाली चेलीसँग बिहे गरेका भिक्टोरिया निवासी अष्ट्रेलियन नागरिक स्टेब बेट्टी पनि सहभागी भएका छन् । उनी आफू जनवरी १ को अघिल्लो साँझ काठमाडौं पुग्ने तयारीमा छन् । प्रवासमा क्रियाशील एक नेपाली साहित्यकार सपरिवार जनवरी १ मै सिड्नीबाट उडेर सोही साँझ नेपाल पुग्दैछ । उनी यस पटकको नेपाल बसाइ आफ्ना छोरीहरुलाई नेपाली सस्कृतिसँग गहिरो गरी घुलमिल गराउने तयारीमा छन् ।अनलाईन खबरबाट

 

 

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट