राजनीतिमा राष्ट्रपति भण्डारीको सक्रियता

२ वर्ष अगाडि

काठमाडौं –  राष्ट्रपति विद्यादेवी भण्डारी पुनः एकपटक विवादमा आएकी छन् । संवैधानिक राष्ट्रपति कार्यकारी हैसियतमा रहेको र राजनीतिमा सक्रियता देखाउन थालेको स्वयं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेताहरूले बताउन थालेका छन् ।

 

नेकपाको शनिबारको स्थायी कमिटी बैठकमा प्रभावशाली नेताहरूले नै राष्ट्रिपतिको सक्रियतामा प्रश्न उठाएपछि उनी विवादमा आएकी हुन् ।

राष्ट्रपतिको लन्च मिटिङमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडा, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, वनमन्त्री शक्ति बस्नेत, कृषिमन्त्री घनश्याम भुसाल, ऊर्जामन्त्री वर्षमान पुन, संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्वगृहमन्त्री जनार्दन शर्मा र नेता देवेन्द्र पौडेल सहभागी थिए ।

पछिल्लो समय प्रधानमन्त्री केपी ओली स्वास्थ्यका कारण त्यति सक्रिय हुन सकेका छैनन् । उनले पार्टीकै नेताहरूसँग पनि नियमित भेटघाट गरेका छैनन् । त्यसैले अहिले नेकपामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हाबी हुँदै गएका छन् । उनलाई माधवकुमार नेपाल, वामदेव गौतमलगायतले साथ दिन थालेका छन् ।

पार्टीमा विस्तारै कमजोर हुँदै जान थालेपछि राष्ट्रपति भण्डारीमार्फत प्रधानमन्त्री ओलीले नेताहरूलाई एकढिक्का राख्ने प्रयत्न गरेको प्रचण्ड, माधवकुमार नेपाल, भीम रावल, वेदुराम भुसाललगायतका नेताले आशंका गरेका छन् ।

स्थायी कमिटी बैठकमा एकाएक करिब एक दर्जन नेताहरू राष्ट्रपति शीतल निवासमा लन्च मिटिङ गर्न गएपछि यो विषयले शनिबार नेकपामा भनाभन नै चल्यो । मन्त्री र नेकपाका नेताहरूबीच आरोप–प्रत्यारोपको दोहोरी नै चल्यो । अन्त्यमा अध्यक्ष प्रचण्डले हस्तक्षेप गरेर विषयलाई मत्थर पार्ने प्रयास गरे । उनको भनाइ थियो, ‘हिजो हामी जाँदा पनि आलोचना भयो, त्यसमा पनि कहीँ न कहीँ कमजोरी हुन गयो भन्ने मलाई महसुस भएको छ, हामीले यसमा ख्याल गर्नुपर्छ, ‘यो विषयलाई अब धेरै नलम्ब्याऊँ ।

केही समयअघि प्रधानमन्त्री केपी ओली र प्रचण्ड राष्ट्रपति शीतल निवास गएर भेटघाट गरेपछि यसको व्यापक विरोध भएको थियो । नेकपाको हेडक्वार्टर राष्ट्रपति निवासलाई बनाएको भन्दै ओली र प्रचण्डले आलोचना खेप्नुपरेको थियो । यस्तो अवस्थामा शनिबार नेकपाका प्रभावशाली स्थायी कमिटी सदस्यलाई राष्ट्रपतिले लन्च मिटिङमा बोलाएर राजनीतिक कुराकानी गरेपछि उनमा अझै पनि राजनीति गर्ने इच्छा देखिएको विश्लेषण गर्न थालिएको छ ।

क्यानडा नेपालबाट

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट