कथा : सेल्फी प्रेम – देवकी पौडेल

देवकी पौडेल पुस ४, २०७७

पोल्टामा पनि नअटाउने माया, सम्मान र हौसला पाउँदा आफैंमा झन् जिम्मेवारी र चुनौती थपिएको महशुस गरेको थिएँ। 

रुपन्देही समाजले सम्मानपूर्वक दिएको अवार्ड सायद मेरो जीवनमा पहिलो हुनुपर्छ। 

हजारौंको संख्यामा जम्मा भएको भीडलाई स्पर्श गर्दै कार्यक्रम आयोजकले माइकबाट फुकेको मेरो नाम – रोशन भेटवाल। 

कार्यक्रमको सुरूआतमै म स्टेज चढ्दाको माहोल सम्झिँदा आज पनि कानमा हजारौं थान तालीहरू गुन्जिरहेको भान हुन्छ। 
पुसको चिसो थेग्न सेतो हाइनेक र त्यसमाथि कालो रंगको कोट–सुट लगाएको थिएँ। त्योभन्दा पनि धेरै न्यानो मैले मेलामा आएका दर्शकबाट पाएँ। 

तिनाउ नदीको सुसेलीसँगै गुन्जिरहेको म्युजिक र रंगीचंगी लाइटहरूको प्रकाशले झन् औद्योगिक मेलाको शोभा बढाएको थियो। 
अकल्पनीय थियो यो सरप्राइज।

स्टेजको बीचमा राखेको कुर्सी मेरो लागि नै रहेछ। म आजको यो कार्यक्रमको मुख्य अतिथि रे।

बुटवलका मेलाहरूमा कैयौंपटक आएको थिएँ। औद्योगिक मेलामा यसरी सरिक हुनु पनि एउटा अवसर थियो र संयोग पनि। भर्खर पुगेको मात्रै थिएँ सेल्फी खिच्नका लागि भीड सुरू हुन लाग्यो। 

सर पिलिज… यो आवाजलाई नकार्न सकिनँ। 

अधिक मात्रामा सेल्फी खिचिरहेकी एक अन्जान केटी को थिइन् ? मलाई थाहा भएन। तर जिज्ञासा जाग्यो यति धेरै सेल्फी लिने

आखिर को होला ? कार्यक्रमको अन्तिममा चिनजान गर्दा थाहा भयो, नाम – सबु श्रेष्ठ, भरतपुर चितवन – ५। 

कार्यक्रमको दौरानमा हामी धेरै नजिक भयौं। उनी केही न केही बहाना बनाएर मसँग नजिकिन लागिन्। विवाहको बारेमा राय र योजना सोध्न लागिन्। जवाफ दिएर नसकिँदै उनले मलाई विवाहको प्रस्ताव गरिन्। तर मलाई यो सबै कुरा एउटा सपनाझैं लागिरहेको थियो। 

यति छिट्टै उनको बारेमा नबुझी म सबै कुराहरू कसरी स्वीकार्न सक्थें र! म अन्योलमा थिएँ। त्यसैले पहिला आफ्नो परिवारसँग सल्लाह गर भनेर यो समयलाई यत्तिकै टारिदिएँ। 

कार्यक्रमको अन्तिम रात उनी मसँगै मेरो कोठामा आइन्। त्यो रात हामीसँगै बितायौं। धेरै कुरा भए। आफ्ना, अरूका र जीवनका सुनौला पलहरूका। सबु अलिक बढी नै भावुक हुँदै जान लागिन्। कैयौंपटक सम्झाएँ तर मानिनन्। उनैको जिद्दी र कामुकताले चुलिएर असरल्ल पोखिएको जवानीले संसार बिर्साइदियो। 

कोठा पुरै उत्तेजनाको एक अनौठो सुगन्धले मगमगाइरहेको थियो। बिहान निन्द्राबाट जाग्दा उनी मस्त सुतिरहेकी थिइन्। बिहानको लालीमा सँगै उदाएको उनको प्रेमले कोठाको पूरै वातावरण नै चम्किलो बनाइदियो। छरपस्ट छितरिएका मायाका अंकुरहरूलाई सम्हालेर उनी त्यो दिन कोठाबाट बाहिरिइन्।

तीन दिनसम्म चलेको कार्यक्रम पनि सकियो। कार्यक्रमसँगै सबुसँगको यो भेटघाट निकै नै महत्त्वपूर्ण रह्यो। जीवनमा नबिर्सिने कुरा भए। मेरो मानसपटलमा विभिन्न कुराहरूले डेरा हाल्दै जान लागे। योभन्दा पहिला कहिल्यै यस्ता क्रियाकलाप भएका थिएनन् मेरो जीवनमा। 

एक हप्तापछि फोन गरेर घरमा सबैले स्वीकारेको कुरा उनले गरेकी थिइन्। मेरो जात तिमीसँग मिल्दैन तिमी हतार नगर भनेर बारम्बार भनेको थिएँ। केटा राम्रो भए जातसँग के मतलब भनेर आमाले भनेको कुरा कैयौं पटक सुनाएकी थिइन्।

पछि उनी पनि हाम्रै अभियानमा जोडिइन्। त्यसपछिका दिनहरूमा हामी कार्यक्रमको सिलसिलामा साथसाथै हिँड्न थाल्यौं। यो नै हाम्रो प्रेमको कसिलो बन्धनको सुरूआत थियो।

उनको बारेमा अझै विस्तृत रूपमा जान्ने उत्सुकताले गर्दा अधिकांश समय म उनीसँगै बिताउन थालें। 

उनी पनि धेरैजसो समय मेरो कोठा र मसँगै बसेर बिताउन थालिन्। यसरी भेट्नु , बोल्नु र बस्नु हाम्रो दैनिकी जस्तै बन्दै जान थाल्यो। कुराहरू तीव्र गतिमा अघि बढ्न लागे। हाम्रो चिनजान र भेटघाट केवल मायामा मात्र सीमित नरहने भयो।

हामीले छिट्टै नै विवाह गर्ने योजना बनाउन लाग्यौं। छोटो समयको परिधिभित्र नै हाम्रो मायाले एउटा परिवारको संकेत दिने पक्का हुँदै थियो। 

म विवाहको लागि तयारी गर्न थालें। आगामी वर्षको वैशाख १४ मा विवाह गर्ने कुरा तय भयो र आ-आफ्नो घरमा बताउने निर्णय गर्यौं। घरमा विवाहको कुरा बताएपछि मलाई उनको आमाले फोन गर्नु भयो।

एकपटक प्रत्यक्ष भेट्ने कुरा गर्नुभयो। फुर्सद हुनासाथ केही दिनमै भेट्ने र परिवारसँग पनि भेटाउने कुरा गरें। तर उहाँले पहिले एक्लै भेट्ने कुरा गर्नुभयो।

शिवरात्रीको दिन थियो। 

हामी नजिकैको शिवालयमा घुम्न गएका थियौं। बस्दा बस्दै दिन ढलेको पत्तो भएन। साँझ झमक्क परिसकेको थियो। पल्तिरपट्टि रहेको स्वामी र वरको रूखमा बसेका चराहरू कराउँदै बास बस्ने तर्खरमा थिए। त्यो समय, त्यो माहोल, शिवालय, र चराचुरूङ्गीहरूको प्रतिध्वनिलाई त्यही छाडेर हामी टाढा पुग्दै गयौं। 

मनमा एक भूगोल जिन्दगीको सपना बुनेर आ–आफ्नो गोरेटोतिर सोझियौं। छुट्नेबेला निक्कै कसिलो पाराले उनले गरेको हगबाट छुटिनु पर्दा निक्कै नमज्जा लागिरहेको थियो।

चाहेर पनि यहाँ धेरै कुराहरू हाम्रो बसमा थिएनन्। यो सबै क्रियाकलाप केवल क्षणिक भए पनि स्मरणमा ताजा र निक्कै स्वादिष्ट हुँदै गए। 

घर फर्किंदा ढिलो भएको हुँदा घरमा उनलाई आमाले निक्कै गाली गर्नुभयो भन्दै राति सुत्ने बेलामा आएको उनको म्यासेजले पूरै रात खल्बल्याइदियो , फिटिक्कै निदाउन सकिनँ। 

रात अनगिन्ती यादहरूको सङ्गालोसँगै जुहारी खेलेर नै बित्यो। भोलिपल्ट त जसरी पनि उनको परिवारसँग भेट्ने योजना बनाएँ। मनमा अनेक कुराहरूको पहाड बनेर यो रात यत्तिकै जून ताराहरू अस्ताउँदै गए।

शितका थोपाहरूसँगै लछारिँदै बिहानको खाना खानेगरी सबुको घरमा जाने फाइनल सोच बनाएर सबेरै उनैको तगालोतिर प्रस्थान गरें। 

उनको ममीले विवाहको विषयलाई लिएर केही शर्तहरू तेर्साउनुभयो। जात मिलेको छैन, आफन्तहरू आउँदैनन्, तिमीहरू भागेर बिहे गर! घरपरिवार र आफन्तहरूको सहभागिता धुमधाम बिहे गर्ने मेरो विचारसँग उनकी आमाको विचार मिलेन। यस्ता उहाँका निर्णय सुनेर म छक्क परें। मैले यो कुरालाई सिधै इन्कार गरें। किनकी मेरो विवाहको विषयमा मैले धेरै योजनाहरू पहिल्यै नै बनाइसकेको थिएँ। 

भगाएर नै विवाह गर्ने भए म उहिल्यै गरिसक्थें। तर त्यसरी मलाई गर्नु नै छैन। अहिले यसरी यहाँ किन भेट्न आउँथे म।

तपाईंहरूकै सहमति र स्वीकार्यमा म अहिलेसम्म पर्खिरहेको थिएँ। अहिले किन यस्तो कुरा गर्नुहुन्छ ? यसरी कुरा फेर्नु थियो भने फोनमै भनिदिएको भए पनि हुने थियो। मेरो लागि यो कुरा मान्य छैन। मेरो घर परिवारले पनि सहमति दिँदैनन्।

त्यसैले म भगाएर विवाह गर्ने कुरामा सहमति हुन सक्दिनँ। यस्तै विभिन्न कुराहरू भए। 

२–३ घन्टासम्म छलफल भयो। तर कुरा मिल्ने छाँटकाँट देखिएन। कति अनुरोध गर्दा पनि सबुको मम्मीले मान्नुभएन। कुरा अधुरो नै छाडिदिएर हिँड्नुभयो। 

मलिनो अनुहारमा सुकसुकाइरहेकी सबुलाई फाइनल सोधें। तिम्रो विचार के छ ? के हाम्रो माया अब यत्तिकै जिउँदो लासमा बेवारिस हुँदै जाने हो र ? तिमीमाथि भरोसा गरेर मैले मायाको ताजमहलमा सुन्दर रंग भर्ने पृथक योजनाहरू बनाएर सबैलाई बताइसकें। तर अब म बाँच्ने कुनै सार छैन।

मलाई अब तिम्रो परिवारको कुनै कुरामा भरोसा छैन तर तिम्रो आखिरी फाइनल निर्णय के हो स्पष्ट बताऊ? 

परिवार विरोधी भए पनि सबुले केही जिम्मेवारी र प्रेरणादायी कुराहरू गरिन्। उनीप्रतिको माया झन् तेजिलो हुँदै गयो।

उनलाई छोड्न मन लागेन। विकल्पका बाटाहरू अनेकौ देखाएँ। छुट्ने बेला अन्तिममा ६/७ महिना पछि मात्रै मन्दिरमा गएर भएनी विवाह गर्न, त्यो बेलासम्म पर्खिन अनुरोध गरिन् सबुले। उनको कुरामा सहमति जनाउँदै त्यो दिन हामी छुटिएका थियौं।

एक्लो जिन्दगीमा भौंतारिरहेको म अब विवाहको सपनाहरू देख्न थालेको थिएँ। ६–७ महिनापछि त विवाह गरेर मुस्ताङ घुम्न जाने योजनाहरू बनाउन थालें। धेरै दिनदेखि म पनि कतै गएको थिइनँ। सपिङदेखि टुरसम्मका सबै कुराहरू र आवश्यक आर्थिक बजेटको व्यवस्थापन गर्न सबै प्लानहरू बनाउँदै थिएँ। 

दुई दिनपछि उनको आमाले एक्कासि फोन गर्नुभयो। तपाईंको र मेरो छोरीको गण राशी मिलेन। विवाह नहुने भयो। तपाईंले आफ्नो सुर गर्नुहोला यत्ति भन्दै पूरै कुरा नगरी काटिएको फोनले मेरो गर्धन नै काटिदियो। 

अचानक काला बादलका मुस्लाहरू मेरो मस्तिष्कमा मडारिन लागे। मैले कुरै बुझ्न सकिनँ। बारम्बार आउने सबुको फोन म्यासेज पनि पातलिँदै जान लागेको महशुस गरें। एकपटक जसरी पनि फोन गर्न अनुरोध गर्दै सबुलाई म्यासेज गरें। पूरा दिन फोनको पर्खाइमा बित्यो। 

कौंसीमा बसेर विगतलाई नियाल्दै थिएँ, त्यतिकैमा सबुको फोन आयो।

भन्दै थिइन् मम्मीले मेरो विवाह अमेरिका बसेको केटासँग गरिदिन लाग्नुभएको छु तर मलाई पटक्कै मन छैन। हामीले बनाएका योजनामा घरपरिवारले साथ दिने जस्तो लाग्दैन मलाई। लाखौं कोशिस गर्दा पनि ममीले मान्नु भएको छैन। यत्ति के भन्दै थिइन् म छाँगाबाट खसेझैं भएँ।

हिजोमात्रै विवाहको लागि भनेर घरमा पैसा खोजिसकेको थिएँ। आवश्यक सामान जोड्ने पूरा तैयारी गर्दै थिएँ। धेरै संवाद गर्न मन लागेन एकोहोरो उनैका कुराहरू मात्र सुनिरहें एक व्याकुल मन बोकेर। 

परिवारले साथ नदिए पनि हामी आफ्नो किसिमले विवाह गर्ने योजना बनाउन लाग्यौं। सबुले पनि यो प्रेमलाई यत्तिकै बीचमा छोड्दिनँ भनेर कसम खाइन्। जेजस्तो परिस्थिति आइपरे पनि म तपाईंको नै साथ छु र रहनेछु भनेपछि बल्ल मनमा थोरै भए पनि सान्त्वना मिल्यो। 

वैशाखमा हुने विवाहको तयारी गर्नमा म पनि लागि परें। मेरो घरमा पनि कुरा निकालं। केही असहज अवस्था भए पनि सहमतिको झिनो आशा देखाउनुभयो आमाबुवाले।

तर उता उनलाई मसँग भेट्नमा रोक लगाउन थालिएको सुइँको पाएँ। शारीरिक र मानसिक रूपमा आफू दवाबमा भइसकेको सबुले बताइन्। दिमागले केही सोच्न सकिरहेको थिएन। आधा रातिमा रूँदै फोन गर्दा सबुसँगै रोएर कैयौं रात बिते।

यो सबै कुराहरू बाहिर अरूलाई बताउन पनि मुश्किल थियो। 

एक जना साथीलाई मात्र यो सबै कुराहरू सेयर गरेको थिएँ। यसैक्रममा उहाँले हामीलाई कानुनी विवाहको सल्लाह दिनुभयो। हामीले वीरगंजमा रहेको एक जना वकिलसँग कुरा गर्यौं। 

उहाँले कानुनी विवाहबारे परामर्श दिनुभयो र आफूले सक्दो सहयोग गर्ने कुरा गर्नुभयो। 

हामीले आवश्यक कागजात जम्मा गर्यौं। तर अचानक नेपाल बन्दको आह्वान भयो। जातीय द्वन्द्वको मुद्दालाई आधार बनाई सुरू भएको बन्दले पूरै बुटवल बजार तताएको थियो। त्यसपछिको ३ हप्तासम्म फोनमा कुरा भयो। तर अचानक फोनमा कुराकानी गर्न पनि बन्देज लगाइएको कुरा सबुले गरिन्। 

घण्टौसम्म कुरा गर्ने हामी अब केही मिनेटमा मात्र सीमित भएका थियौं। के हाम्रो माया अब यत्तिकै विलिन हुँदै जाने त होइन ? निक्कै चिन्तित र संवेदनशिल प्रश्नहरू बारम्बार तेर्सिन्थे, समस्या झन् बढ्दै जान लाग्यो। समाधानको बाटाहरू चारैतिरबाट अवरूद्ध हुँदै जान लागे।

सबुले एक दिन भेट्न बोलाइन्। घरमा विवाह तय गरेको कुरा गरिन्। मैले उनको मनसाय बुझ्ने कोशिस गरें र सोधें, के गर्छौ तिमी ? तिम्रो निर्णय के हो त ? तपाईंबाहेक कोहीसँग बिहे गर्दिनँ भन्दै मलाई पूरै अंगालोमा कस्दा छचल्किएर झरेको आँसु सहितको उनको बोलीले मलाई पनि निक्कै रुवायो। 

‘भागेर जाऊँ न त’ मैले भनें। 

‘तर केही समय पर्खौं’भनिन् सबुले। 

सहमति जनाएँ। 

केही दिन पहिलेकै गतिमा हाम्रो सम्बन्ध अगाडि बढ्न लाग्यो। झिनो आशामा केही खुसी थपिँदै जान लाग्यो। लाग्यो अब हाम्रो प्रेममा पक्कै पनि जित हुनेछ। खुसीका सहनाइहरू बज्नेछन्। 

गाउँ, समाज र टोलमा एउटा खुसी फर्किनेछ। परिवार र आफन्तमा एउटा नयाँ सदस्य थपिनेछ। साथीभाइका सुभेच्छा र बधाइलाई एउटा ठूलै रिसेप्सन पार्टीमा स्वागत गर्नेछु। 

यस्तै खुसीका कुराहरू फेरि नशा नशामा दौडिन लागे। मन चंगाजस्तै हलुंगो भएर अब हावामा वेग मार्न लाग्यो  शिरिषका फूलजस्तै यो मन अब फुल्न लाग्यो।

ढकमक्क फुलेको फूलको बगैंचाजस्तै मेरो मन पनि फुल्न लाग्यो। लाग्यो अब एउटा ठूलै युद्धमा जित हुनेछ। दिन ढल्दै गए।

अब हामीले बाचा गरेको दिन पनि नजिक आउन लाग्यो। दिन रात फोनमा बोलेरै बिताउथ्यौं। मन सबुको फोनको प्रतीक्षामा हुन्थ्यो। 
एकछिन पनि फोन आउन ढिला भयो भने मन त्यसै आतिन्थ्यो। 

दिनभरि नै सबुको म्यासेज फोन केही आएन। धेरै पटक कोशिस गरें तर मोबाइल स्विचअफ भनिरहेको थियो। के भयो ?

सबु किन मोबाइल बन्द गरेर बसेकी होलिन् ? मनले के–के सोच्न थाल्यो। मोबाइलमा ब्याट्री पावर सकिए पनि केहीबेरमा त चार्ज गरेर फोन गर्नुपर्ने हो तर पूरै दिन ढल्दा पनि एउटा खबर केही आएन। 

खुसी हुँदै गएको यो मन नदीले काटिएर किनारामा पसारिएको बलौटो जस्तो टुक्रिँदै जान लाग्यो।

खुसीका रहरहरू सबै तमोर नदी बगेजस्तै बग्दै गए। बेचैनी र पीडाका पिण्डहरू मात्र सर्वत्र शरीरमा सलबलाउन थाले।

जिन्दगी र सबुबीचमा बनाएका सबै कल्पनाहरू सिमलका भुवाजस्तै हावामा मडारिन लागे। नीलो गगन निमेषभरमै कालो हुँदै जान लाग्यो। उफ् साला मेरो जिन्दगी ! पूरै चौबीस घन्टा बितिसक्दा पनि सबुको अत्तोपत्तो केही भएन। 

एकमनले सोच्न लागें, अब आजको रात पनि केही खबर आएन भने भोलि मिर्मिरेमा सबुको घर जान्छु म।

उनैको यादमा छ्लाङ्ग मारिरहेको मनलाई अचानक आएको एसएमएसको रिङ्गटोनले मोबाइलतिर आँखा खिच्यो। म्यासेज सबुको नै रहेछ। थ्याक्स् गड एक पटक होइन तीन पटक भने। बारम्बार मोबाइललाई नै चुमे।

मोबाइल छातीमा टाँसेर आँखा चिम्म गरें। सबुलाई नै छातीमा टाँसेर अङ्गालो मारेजस्तै महशुस भयो। म्यासेज पढिनँ , पढ्न पनि सकिनँ। खुसीले आँखा छचल्किए। 

चिन्तामा लोलाएर सुख्खा भएका आँखा सबुको एसएमएसले आज फेरि खुसीले रसाए।

मोबाइल नै छातीमा टाँसेर बिस्तारामा बङ्ग्लङ्ग लडें। पहिलो पटक बुटवलमा मेरै कोठामा सबु आउँदाको दिनको खुब याद आयो। त्यो दिन यस्तै गरी मलाई अङ्गालोमा कसेर बिस्तारामा लडाएकी थिइन सबुले। खुसीको सीमा रहेन। 

के लेखेकी रहिछन् सबुले भनेर अब भने खुल्दुली बढ्न लाग्यो। मोबाइलको म्यासेज खोलें। 

‘प्रिय रोशन, खै म आज यो म्यासेज लेख्दा आफैंलाई सम्हाल्न सकिरहेकी छैन। कुन शब्दमा के भनेर लेखूँ, नलेखूँ कसरी म। आफ्नै जिन्दगीको दोसाँधमा परें। जिउनु या मर्नु अब मेरो हातमा यही दुइटा

विकल्प रोज्नुबाहेक अरू केही रहेन। विगतलाई सम्झँदा म भर्खरै घर छोडेर तिम्रो समीपमा आऊँजस्तो लाग्छ तर त्यो पनि सम्भव छैन मेरो लागि। यदि म आफ्नो मर्जीले त्यसो गरें भने तिमीलाई पनि अप्ठ्यारो पर्छ। म जानीजानी तिमीलाई मेरो कारण दोषी बनाएर समाजका अगाडि नराम्रो बनाउन सक्दिनँ।

आखिर मैले पनि त माया गरेको मान्छे हौ तिमी। जे जति वाचा गरें त्यो सबै म पूरा गर्न सकिनँ। मलाई माफ गर है रोशन। आफूलाई सम्हाल्नु। मलाई थाहा छ यो मेरो म्यासेजले तिमीलाई ठूलो धक्का लाग्नेछ तर मेरो हातमा पनि त केही छैन।

आजसम्म साथ दियौ त्यसको लागि आभारी छु। आफ्नो धेरै ख्याल राख्नू है। लेख्दै गर्दा म कुन अवस्थामा छु, त्यो मलाई या भगवानलाई मात्र थाहा छ। म आजबाट टाढा जाँदैछु तर तिमीलाई हरेक पल मिस गर्नेछु। तिमीलाई लाग्छ होला म जानीजानी यसो गर्दैछु तर त्यस्तो होइन।

मलाई बाध्यता र चुनौती एकाएक आइलागे तर तिमीलाई स्विकार्न सकिनँ त्यो मेरो बाध्यता थियो। भविष्यमा धेरै राम्रो काम गर्नू। हरेक पाइला पाइलामा मेरो शुभकामना छ तिमीलाई। दुई दिनदेखि आँसु पिएर बसेकी छु म। चाहेर पनि फोन, म्यासेज गर्न सकिनँ। लेख्न मनमा हजारौं थान कुराहरू सलबलाई रहेका छन् तर लेख्दै गर्दा संसार नै अँध्यारो लाग्न थाल्यो।

आँखाबाट झरेका आँसुहरू पठाउन मिल्ने भए उपहार पठाइदिने थिएँ म, तर लेख्न सकिनँ रोशन अब यहाँभन्दा। मलाई गलत नबुझ्नु है पिलिज। अन्तिम पटक मलाई माफ गरिदेऊ। कुनै बेला संयोग मिल्यो भने अवश्य भेटौंला अहिले भने यत्तिमात्र!’

उनको यो अधुरो म्यासेज नै अन्तिम म्यासेज रह्यो। जुन दिन हाम्रो विवाहका लागि तय भएको दिन थियो त्यही दिनबाट उनी एकाएक हराइन्। बिनाजानकारी र ठोस कारण नदेखाई गायब भएको महिना दिनपछि सबुको एक जना साथीले फोन गरेर भन्दै थिइन्। 

दाइजो प्रथा र जातभातको कारण सबुको परिवारले नकारेको र सबुलाई पनि बाध्यतामा पारेको भनेर धेरै कुरा सुनाइन्। म छाँगाबाट खसेजस्तै भएँ। मैले सोच्न पनि नसकेको कुरालाई एकाएक चारैतिर फैलाएर मेरो बेइज्जत गरिसकेको रहेछ्न्।

यो सबै सुनेर म ह्याङ्ग भएँ। फोन राख्दै गर्दा रितिकाले सोधिन्, ‘दाइ तपाईंले साँच्चै दाइजो माग्नु भएको हो त ?’ यो प्रश्नले मेरो इमानमाथि प्रश्न गर्यो। 

‘तिमीलाई के लाग्छ ?’ प्रश्नमाथि प्रश्न तेर्साएँ। 

‘तपाईंले यस्तो भन्नुहुन्छ भन्ने लागेको भए म फोन गर्थें त! तर चारैतिर यही हल्ला छ दाजु। रोशनले दाइजो मागेको कारण सबुको र रोशनको विवाह भएन भनेर सबैले भनेको सुनेर आफैंलाई कस्तो कस्तो लाग्यो र तपाईंलाई नै सोध्छु भनेर फोन गरेकी। अन्यथा नलिनू है दाजु। अहिले छुटे ल। बाइ…’ अचानक यसरी आएको रितिकाको फोनले मेरो दिमाग फनफनी घुमायो। 

बिस्तारै भुल्ने कोशिस गरिरहेको मेरो मन, मस्तिष्क र मुटुमा फेरि गहिरो घाउ बनाइदियो। संसार नै सन्नाटा हुँदै जान लाग्यो। कसैसँग पनि बोल्न मन लागेन।

घरबाट बाहिर निस्किन, साथीभाइहरूलाई भेट्न, बोल्न मन मरेर गयो। एकान्तबाहेक अरू सबै मलाई दुस्मन हुन् जस्तो लाग्न थाल्यो। चिन्तै चिन्ताले डेरा हाल्यो। आफैंमा के हुँदैछ र के भइरहेको छ त्यो केही थाहा पाइनँ। विस्तारै मानसिक समस्यामा परें। 

घरका कसैले पनि मलाई बुझेनन्। बुझ्ने कोशिस पनि गरेनन्। मैले पढाइ छोडें। अन्तिम वर्षको पढाइ छोडेपछि मेरो दिनचर्या बदलियो। संस्थादेखि कार्यरत सबै ठाउँको जिम्मेवारी सबै हस्तान्तरण गरिदिएर टाढिएँ। 

मलाई यो संसार पूरै अँध्यारो लाग्न थाल्यो। दिनको यो रोशनी पनि औंसीको रातजस्तै सन्नाटामा परिणत हुन थाल्यो।

फिटिक्कै बाँच्न मन लागेन र आत्महत्याको प्रयास गरें तर खै भगवानले मर्न पनि दिएनन्। न सबुको प्यारो हुन सकें न त भगवानको। जिउँदो लास बनेर जीवनका कठिन पलहरू काट्दै गएँ। 

एक पटक भए पनि सबुसँग भेट्ने धेरै प्रयास गरें तर मौका कहिल्यै पाइनँ।

मैले मेरो परिवार, साथीभाइ, सहकर्मी र अग्रजहरू कसैबाट पनि कुनै सहयोग पाउन सकिनँ। उल्टै मेरो जात र आर्थिक अवस्थाको पृष्ठभूमिलाई दोष देखाउँदै सबुको पछि नलाग्न सल्लाह दिन थाले।

तर पागलमन त्यो पनि कहाँ मान्थ्यो र! सबै थाहा हुँदाहुँदै पनि मसँग सम्बन्ध गाँसेर विवाहको समय तय गरेर विनाकारण सबु हराउँदा मैले के गुमाएको छु थाहा छैन। 

हरेक पाइलामा महिलालाई मात्र न्याय गर्ने समाजले पीडामा पिल्सिएका हजारौं रोशनहरूको समस्या आखिर किन बुझ्दैन? 

समानताको एकीकरण खोज्ने तर महिला पुरूषलाई खण्डित गरेर वर्गीकरण गर्ने पितृसत्तात्मक समाजले न्यायको समानता आखिर कहिले ल्याउला त ? 

एकपटक सबुलाई भेटेर सबै कुरा सोध्ने मन छ। आखिर हाम्रो प्रेम के एउटा खेलौना थियो र ? मलाई म्यासेज गरेर प्रेमको नौटंकी बुनेर बाध्यता र मजबुरी देखाउने तर समाज र साथीभाइको सामुन्ने दाइजो प्रथा र जातभातको आरोप लगाउने के सबुको यो प्रेम एउटा पर्दामा रचेको डकुमेन्ट्री मात्र थियो र ? 

मलाई बेस्सरी याद आयो – पहिलो भेट र भेटमा सेल्फी। के हाम्रो माया सेल्फी प्रेम हो र ? भेट्यो केही समय मनमा कैद गर्‍यो अनि माफी माग्यो र निकाल्यो। 

बुझ्न केही सकिन – जीवन, जीवनयात्रा र जीवन संगिनी आखिर के हुन् ?


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको