जन्मदिनमा गुञ्जिए प्रज्ञामा अनिताका कविताहरु

मोहन अभिलाषी चैत्र ४, २०७७

बुवा ! म कहिल्यै ठुली भइनँ
ठुली हुन पनि जानिनँ
काँधमा बुई चढाएर स्कुल गएको
काँधमा ऋण बढाएर कलेज गएको
काँधको हड्डी खियाएर जीवन जिएको
तिमीभन्दा स्पात अरु केही थिएन
तिमीभन्दा ठुलो अरु केही हुनै दिइनँ ।

मंगलबार राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अनिता लामाका यस्तै कविताहरुले गुञ्जायमान देखियो । जेसुम अभियानद्वारा आयोजित एकल कविता वाचनको शुरुवात जन्मदिनकै अवसरमा भएकाले आमा र बुबामा समर्पित गरेर दुई छोटा कविता ‘दियो’ र ‘बुबा’बाट गरेकी थिइन् । सामाजिक र राजनीतिक विषयमा चोटिला कविताहरु लेखिरहने अनिता लामाका ‘समर्पण’, ‘अर्पण’ र ‘आतुङ’ गरि ३ वटा कविता संग्रह बजारमा आईसकेको छ ।

‘अनिताको आवाज’ शिर्षकको एकल कविता बाचन कार्यक्रममा समसायिक राजनीतिक–सामाजिक चेतका कवितामात्रै सुनाइनन्, लोप हुँदै गइरहेको परम्परागत नेपाली सांस्कृतिक सम्पदा, ज्ञान र अभ्यासप्रति चिन्ता समेत जाहेर गरिन् कवितामार्फत । कार्यक्रममा कवयित्री लामाले ‘दियो’, ‘ओछ्यान’, ‘पसिना’, ‘जुत्ता’, ‘विर्खबहादुर माझी’, ‘योद्धा’, ‘ओ एमाले’, ‘प्रसाद’, ‘मुसरिया’ लगायतका विभिन्न शिर्षकका डेढ दर्जनभन्दा बढि लामो तथा छोटा कविताहरु सुनाएकी थिईन्। उनका ‘माइलस्टोन’, ‘घुम्टो’, ‘पसल’, ‘स्पन्दन’, ‘फूल’, ‘बलिदान’, ‘ओछ्यान’, ‘प्रेम’, जस्ता छोटा कविता निकै चोटिला थिए ।

अनिताका कविता सुनेपछि हालै आत्मकथा कृति ल्याएकी प्रधानमन्त्री पत्नी राधिका शाक्यले शुभकामना दिँदै भनिन्, ‘अनिताको कविता लेखनबारे मलाई राम्रोसँग थाहा छ । उनको साहित्यिक लेखन कविताबाट अन्य विधामा पनि फड्को मारेको हेर्न चाहन्छु ।’ नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले एक दशकअघि कवि अनिताको कृति विमोचन गरेको सन्दर्भ सम्झे । ‘कवि अनिता हामी बाँचिरहेको समयको आवाज हुन् । उहाँका कविताहरूले समसामयिक विषयवस्तुका अलवा समय, सम्यता र संस्कृतिको वकालत गरेका छन् । उहाँ एक अब्बल कवि हुनुहुन्छ भन्ने कुरा आज वाचित कविताहरूले पुष्टि गरेका छन् ।’

कवि अनितालाई अर्का कविहरू स्नेह सायमि, शशी लुमुम्बू, सुरेश हाचेकाली र फूलमान वलले एक एक ओटा कविता वाचन गरेर साथ दिएका थिए । जन्मदिनको समेत अवसर पारिएको कार्यक्रममा कवि अनितालाई बुबा कान्छा लामा, आमा माया लामा र दिदी एवं वाग्मती प्रदेश सांसद सीता लामाले तामाङ परम्परा अनुसार टोटलाको फूलको टिका लगाइदिएर शुभकामना दिएका थिए । कार्यक्रममा ९५ बर्षका ज्येष्ठ कवि हर्ष स्याङ्बोको समेत उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन कवि अस्मिता मालीले गरेकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको