कविता : म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु

अशोज १०, २०७३

nदेबराज गुरुङ

चक, डस्टर, ब्ल्याकबोर्डमा आफूलाई सीमित राख्दै
केटाहरुको कचकच र फतफतमा आफूलाई हराउँदै
हस्याङ–फस्याङ र स्वाँ–फ्वामा आफूलाई चलाउँदै
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।

घन्टीको भरमा सधैँ आफूभित्रको स्वत्वलाई गुमाउँदै
कागजमा कोरिएको रुटिन–बोर्डमा आफूलाई नचाउँदै
केबल आफूभित्रको मान्छेलाई सकी–
नसकी सम्हाल्दै
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।


घडी–घडीमा मनभित्रको कुरो मनमा नै
राखी सल्किरहेछु
तातो चियाको बाफले सकी–नसकी आफै
सेकिरहेछु
सुकेको ओठ, भोकोउको पेट थमथमाउँदै बाँचिरहेछु
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।


म स्कुलको मास्टर हुँ सरस्वती खोज्दै बाँचिरहेछु
शिक्षा दिनु धर्मको नाममा आफूलाई सुकाइरहेछु
तर साथी के गर्ने खोइ यहाँ पनि मत्स्य–न्याय
भोगिरहेछु
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।


दुई छाक उसिना भातको भरमा ठूलो स्वरले चिच्याउँदै
जे गरे पनि यहाँ फटाहाहरुको अगाडि बेवकुफ बन्दै
सकी–नसकी आफूलाई आफै सम्हाल्दै–
उठाउँदै
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।


बजारको भाउले हुत्तिहारा मास्टर भन्दै गिज्याएको भोगिरहेछु
यस्तै छ साथी, उकुसमुकुसभित्र जीवन
साँच्दै हाँसिरहेछु
गधाले पनि सकेको मात्र भारी बोक्छ, ऊभन्दा
हीन जीवन बाँचिरहेछु
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।


सरसफाई गर्नु स्वस्थ रहनु हो, कक्षामा आफू बकिरहेछु
तर आफूभित्र म मास्टरलाई साबुनले ब्यङ्ग्य गरेको सुनिरहेछु
सन्तुलित आहाराको पाठ पढाउँदै आफू कर्कलाको झोलमा डुबिरहेछु
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।


नक्कल गर्नु नेपालीहरुको स्वभाव हो यसैले त
नक्कल हुन्छ
यहाँ बिरालालाई क्याट भन्नुपर्छ बिराला भने मुर्ख बन्नुपर्छ
म नेपालको मास्टर हुँ– विदेशी भई
नेपालीको बन्धक राख्नुपर्छ
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।


फाटेको जुत्ता मलाई चियाइरहन्छ, म उसलाई थुमथुमाइदिन्छु
मेरा कोटका प्वालहरुले जिस्क्याइरहन्छन चुपचाप सोच्दै हेरिरहेछु
यस्तै हो म नेपालको मास्टरको जिन्दगी
सकी–नसकी डो¥याइरहेछु
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।


सहनुको पनि सीमा हुन्छ, अन्यायभित्रैबाट न्यायको
शंखनाद हुन्छ
अब म भित्रको मास्टर जवालमुखीझैं फुट्न फुट्न मात्र
बाँकी छ
अब मजस्तै असंख्य निमुखा मास्टरहरु जुर्मुराएर उठ्न मात्र
बाँकी छ
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।

blog_lehrer


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको