कारोबारको चौथो दिनसम्म सेयर वा रकम पाउनुभएन ? उजुरी गर्नुहोस्

साउन २०, २०७३

कारोबार गरेको चौथो दिनसम्म सेयर वा रकम पाउनुभएको छैन ? यदि त्यसो हो भने तपाईले सिधै सिडिएस एण्ड क्लियरिङको कार्यालयमा गई उजुरी हाल्न सक्नुहुनेछ।

तपाईले हालेको उजुरीबाट समग्र राफसाफ चाँडो गर्न गराउन सम्वन्धित पक्षलाई दवाव पुग्ने छ।  नेपाल धितोपत्र बोर्डले कारोबारको राफसाफमा ‘टि प्लस थ्री’ प्रणाली अर्थात कारोबार भएको दिनपछिका तीन दिनभित्रमा लगानीकर्ताको हातमा सेयर वा रकम पुर्याउन निर्देशन दिएसँगै यसमा कडाई गरिएको छ।
यदि कारोबार भएको चौथो दिनसम्म पनि सेयर र रकम जम्मा नभएमा सिडिएस एण्ड क्लियरिङले सम्वन्धित ब्रोकरलाई उजुरीका आधारमा आवश्यक कारबाही समेत गर्नेछ।  यदि समयमै ‘पे इन’ र ‘पेआउट’ नगरेमा पीडित लगानीकर्ताले विपक्षी वा ब्रोकरलाई कारोबार रकमको २० प्रतिशतसम्म जरिवाना समेत तिराउन सक्ने व्यवस्था छ।
सिडिएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताका अनुसार यदि लगानीकर्ताले कारोबार भएको दिन र त्यसपछिका ३ दिनभित्र रकम भुक्तानी नपाएमा सिडिएस एण्ड क्लियरिङमा उजुरी गर्न सक्ने छन्।
‘प्राप्त उजुरीका आधारमा हामी आवश्यक अनुसन्धान तथा कारबाही समेत गर्नेछौँ’ सेतोपाटीसँगको कुराकानीमा उनले भने ‘अहिलेसम्म कसैले उजुरी भने गरेका छैनन्।’ सिडिएस एण्ड क्लियरिङका तर्फबाट ‘टि प्लस थ्री’ लागू गर्नलाई कुनै कसर बाँकी नराखिएको उनले बताए।
‘साँझ ६ बजेसम्म काम गरेर भए पनि हामीले राफसाफ सकेका छौँ’ उनले भने ‘यति गर्दा पनि कोही लगानीकर्ताले समयमै रकम वा सेयर पाएनन् भने हामीलाई उजुरी गर्नुहोस्।’ सिडिएस एण्ड क्लियरिङ केही जनशक्ति थप गरेर कार्यक्षमता विस्तार गर्ने तयारीमा रहेको उनले जानकारी दिए।
सिडिएस एण्ड क्लियरिङमा मात्रै होइन नियामक निकाय नेपाल धितोपत्र बोर्डलाई समेत कारोबार भएको दिन र अर्को तीन दिनभित्रमा भुक्तानी नभएमा गुनासो टिपाउन सकिनेछ। ‘राफसाफमा ढिलो भएमा लगानीकर्ताले टेलिफोनबाटै बोर्डलाई जानकारी गराउन सक्नेछन्, त्यसपछि हामीले आवश्यक निर्देशन तथा कारबाही गर्छौँ’ बोर्डका कार्यकारी निर्देशक निरज गिरीले भने।
पछिल्लो समयमा सबैजसो ब्रोकरहरुले ‘टि प्लस थ्री’ प्रणाली लागू गरेको बताउँदै उनले अब राफसाफमा ढिलाई गर्नुपर्ने कुनै आधार नभएको तर्क गरे।   सिडिएस एण्ड क्लियरिङ र नेपाल धितोपत्र बोर्डले ‘टि प्लस थ्री’ प्रणाली लागू भइसकेको बताए पनि कतिपय ब्रोकरहरुकोमा एक हप्ताको समय कुर्नुपर्ने वाध्यता रहेको लगानीकर्ताको गुनासो छ।
नेपाल इन्भेष्टर फोरमका अध्यक्ष आत्मराम घिमिरेका अनुसार कतिपय ब्रोकरहरुले ‘टि प्लस थ्री’ लागू गरे पनि कतिपयमा अझै लागू हुन सकेको छैन। पछिल्लो समयमा लगानीकर्ताले कारोबारपछि पाउने रकम वा सेयर पाउने अवधि छोट्टिएको उनले स्पष्ट पारे। ‘अधिकांश ब्रोकरले अहिले समयमै लगानीकर्तालाई रकम वा सेयर दिने गरेका छन्, तर पूर्ण रुपमा अझै लागू भइसकेको अवस्था छैन’ उनले भने।
लगानीकर्ताले पनि यस्ता कुरामा गुनासा भएमा सिडिएस वा बोर्डलाई जानकारी गराउनुपर्नेमा उनले जोड दिए।  बेचेको दिनदेखि रकम पाउने दिनसम्म सेयरको मूल्यमै भारी अन्तर पर्न जाने हुँदा लगानीकर्तालाई यसले मनोवैज्ञानिक रुपमा समेत प्रभाव पार्ने गरेको छ।
ब्रोकर नं. ४९ इम्पेरियल सेक्युरिटिजबाट कारोबार गर्दै आएका लगानीकर्ता सचिन कुँवर भन्छन् ‘कुनै कम्पनीको सेयर बेचेको सात दिनपछि रकम बढेर उच्च पुगिसक्छ तर आफ्नो हातमा रकम परेको हुँदैन अनि पछुतो लाग्छ।’
सेयर खरिद गर्दा आफ्नो खातामा जम्मा हुन नपाउँदै मूल्य उच्च दरले घट्दा पनि खरिद गर्ने पक्षलाई पछुतो लाग्ने गरेको उनी बताउँछन्। समयमै राफसाफ हुन सकेमा रकमको अन्यन्त्र सदुपयोग भइसक्ने हुँदा कारोबार बढ्न समेत सहयोग पुग्ने उनको भनाई छ।

सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको