सेयरमा लगानी गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

मंसिर २८, २०७३

काठमाडौं : हामीमध्ये धेरै जना सेयरमा लगानी गर्दा धेरै फाइदा हुन्छ भन्दै त्यसबारे राम्ररी नबुझी लगानी गर्न हतारिन्छौं । त्यस क्रममा साथीभाइको लहैलहैमा पनि लाग्छौं । तर, लगानी गर्नुअघि सामान्य कुरामा ध्यान दियौं भने सेयरबारे धेरै जानकारी प्राप्त हुन्छ । त्यसमध्ये मुख्य हो, आह्वानपत्र ।

28042016074754share-1000x0

कम्पनीहरुले प्राथमिक सेयर (आईपीओ), हकप्रद सेयर र ऋणपत्र निष्कासन गर्दा होस् वा सामूहिक लगानी कोषहरुले योजना निष्कासन गर्दा, कम्तीमा एक साताअघि अनिवार्य रुपमा आह्वानपत्र निष्कासन गर्नुपर्छ । कम्पनीहरुले धितोपत्र बोर्डलाई एक दिनअघि नै जानकारी दिएर यस्तो आह्वानपत्र राष्ट्रिय स्तरको पत्रिकामा प्रकाशित गर्नुपर्ने भएकाले सजिलै जानकारी लिन सकिन्छ ।

आह्वानपत्र अध्ययन गर्दा विभिन्न कुरामा ध्यान दिनुपर्छ । विशेषतः आह्वानपत्र कुन क्षेत्रको कम्पनीबाट निष्कासित भएको हो, सेयर निष्कासन सम्बन्धी हो वा ऋणपत्र तथा सामूहिक लगानी कोषका योजनाहरुको हो, यसले पनि आह्वानपत्रमा दिइने केही जानकारी फरक पर्छ ।

प्राथमिक सेयर निष्कासन वा हकप्रद सेयर निष्कासनको आह्वानपत्रमा खासै धेरै फरक हुँदैन । प्राथमिक सेयर त्यस कम्पनीमा लगानी नभएका सर्वसाधारण तथा संस्थाहरुको लागि निष्कासन गरिएको हुन्छ ।

कम्पनीको सेयर कारोबार कतिमा भइरहेको छ, भोलि मूल्य बढ्ने अन्य आधार छन्-छैनन्, कम्पनीको विगत कस्तो रह्यो र भविष्य कस्तो हुने देखिन्छ भन्ने विचार गरेर लगानी गर्नुपर्छ

हकप्रद भने पहिले नै त्यस कम्पनीको सेयरमा लगानी गरिसकेकाहरूको लागि हुन्छ । त्यसैले हकप्रद सेयरमा भने कुन दिनसम्म कायम सेयरधनीले हकप्रदमा लगानी गर्न पाउँछन् भनेर ‘बुक क्लोज’ मिति उल्लेख गरिएको हुन्छ ।

हकप्रद जारी गर्ने कम्पनीको सेयर स्टक एक्सचेन्ज (दोस्रो बजार) मा कारोबार पनि भइरहेको हुन्छ । त्यसैले बुक क्लोजभन्दा एक दिनअघिसम्म कम्पनीको सेयर किन्नेले पनि हकप्रदमा आवेदन दिन सक्छन् । तर, बुक क्लोज मितिभन्दा पछिकाले भने पाउँदैनन् । हकप्रदमा लगानी गर्नेले बजारमा त्यस कम्पनीको सेयर कारोबार कतिमा भइरहेको छ, भोलि मूल्य बढ्ने अन्य आधार छन्-छैनन्, कम्पनीको विगत कस्तो रह्यो र भविष्य कस्तो हुने देखिन्छ भन्ने विचार गरेर लगानी गर्नुपर्छ ।

आईपीओ निष्कासन सम्बन्धी आह्वानपत्रमा सर्वसाधारणले कति कित्तासम्म सेयरमा लगानी गर्न पाउँछन् भनेर न्यूनतमदेखि अधिकतम सीमा उल्लेख गरिएको हुन्छ । हकप्रद निष्कासनमा हुने फरक भनेको आह्वानपत्रमा कति अनुपातमा सेयर जारी गर्न लागिएको खुलाइएको हुन्छ । जस्तो, मानौं कुनै कम्पनीको १ बराबर २ अनुपातमा हकप्रद सेयर भनिएको छ भने लगानीकर्ताले १ कित्ता बराबर दुई कित्ता सेयर किन्न पाउँछन् । आईपीओ र हकप्रद दुवैको मूल्य एउटै अर्थात् प्रतिकित्ता १ सय रुपैयाँ रहने गरेको छ ।

आह्वानपत्रमा सेयर निष्कासन खुला रहने अवधि, फारम पाइने स्थान र बिक्री प्रबन्धकको जानकारी दिइएको हुन्छ । कम्पनीमा विगत केही वर्षदेखिको वित्तीय अवस्था र भविष्यको केही वर्षसम्मको प्रक्षेपित वित्तीय विवरण पनि आह्वानपत्रमा दिइएको हुन्छ । यसबाट लगानीकर्ताले कम्पनी खुद नाफा वा नोक्सान कस्तो अवस्थामा छ, सर्वसाधारणबाट लगानी भएपछि के-के अवस्थामा परिवर्तन गर्ने संकेत गर्छ । चुक्तापुँजी थप बढाउने लक्ष्य छ-छैन, छ भने लगत्तै थप बोनस सेयर अथवा हकप्रद सेयर वितरण गर्ने योजना हुन सक्ने संकेतको जानकारी प्राप्त गर्न सकिन्छ । धितोपत्र बोर्डले यो जानकारी दिन अनिवार्य नगरेकोले कतिपयले भने योजना भएर पनि चुक्तापुँजी वृद्धिको कुरा प्रक्षेपित वित्तीय विवरणमा उल्लेख गर्दैनन् ।

त्यसबाहेक, तीन करोड रुपैयाँभन्दा बढी रकमको सेयर वा ऋणपत्र निष्काशन गर्दा इक्रा नेपालबाट रेटिङ गराउनुपर्ने व्यवस्था छ । इक्रा नेपालले दिएको रेटिङ संकेत पनि आह्वानपत्रमा उल्लेख गरिएको हुन्छ । इक्रा नेपालले कम्पनीको प्रकृति अनुसार, कम्पनीका प्रतिस्पर्धीहरु, कम्पनीको वित्तीय अवस्था र त्यही क्षेत्रका कम्पनीहरुबीचको प्रतिस्पर्धी क्षमता लगायतको विषयमा विश्लेषण गर्छ ।

इक्रा नेपालको रेटिङ हेरेर पनि लगानीकर्तालाई कम्पनीमा लगानी गर्ने वा नगर्ने निर्णय गर्न सजिलो पार्छ । हाल भने राष्ट्र बैंकको निर्देशन अनुसार चुक्ता पुँजीको सीमा पुर्‍याउन समस्या हुन सक्छ भनेर बैंक तथा वित्तीय संस्थाले यो आर्थिक वर्षभरि रेटिङ गर्न नपर्ने छुट पाएका छन् ।

ऋणपत्र वा आईपीओ सम्बन्धी आह्वानपत्रबाट हो भने सामूहिक लगानी कोषहरुले लगानी गरेका छन्-छैनन् भन्ने जानकारी लगानीकर्ताले पाउन सक्छन् । धितोपत्र बोर्डको नियम अनुसार हरेक कम्पनीले निष्कासनको समयमा सामूहिक लगानी कोषको लागि कुल ५ प्रतिशत सेयर वा ऋणपत्र जारी गर्नुपर्ने हुन्छ ।

प्रायः सामूहिक लगानी कोषले कम्पनीहरुको राम्ररी अध्ययन गरेर मात्र लगानी गर्छन् भन्ने मान्यता छ । त्यसैले तिनीहरुले लगानी गरेको कम्पनीमा आवेदन दिनु उचित हुने मानिन्छ । हकप्रद सेयरको आवहान पत्रमा भने उनीहरुको लगानी के-कति छ, खुलाइएको हुँदैन । त्यस्तै, कतिपय अवस्थामा अल्पकालीन लाभ लिन अर्थात् सूचीकरणको केही समयपछि नै सेयर बिक्री गर्ने उद्देश्यले पनि उनीहरुले लगानी गरिरहेको पाइन्छ । त्यसैले आफूले अल्पकालीन वा दीर्घकालीन लगानीको सोच राखेको हो भन्नेमा लगानीकर्ता पनि स्पष्ट हुनुपर्छ ।

आह्वानपत्रमा कम्पनीको सञ्चालक समितिको बारेमा पनि जानकारी दिइएको हुन्छ । सञ्चालकहरुको पुष्ठभूमि के हो ? अन्य कुन-कुन संस्थामा आबद्ध छन् भन्ने जानकारी पनि थाहा पाउन सकिन्छ । जलविद्युत्, बिमा लगायतका कम्पनीको आह्वानपत्रमा भने माथि चर्चा गरिएकाभन्दा थप केही जानकारी हुन्छन् ।

जलविद्युत् कम्पनीले आईपीओ निष्कासन गर्दा पहिले स्थानीयवासी लगायतको लागि गर्छन् भने दोस्रो पटक सर्वसाधारणको लागि । स्थानीयवासीले सेयरमा लगानी गरेको तीन वर्षसम्म सेयर बिक्री गर्न पाउँदैनन् । यो कुरा आह्वानपत्रमा पनि खुलाइएको हुन्छ । त्यसैले आह्वानपत्र पनि स्थानीय र सर्वसाधारणको लागि दुई पटक प्रकाशित गर्ने गरिन्छ । दुवै पटक निष्कासन गरिने आह्वानपत्रमा सेयरबाट संकलन गर्न लागिएको रकम कुन आयोजना विकास गर्न हो वा थप लगानी गर्न वा बैंकको ऋण तिर्न जुटाइएको हो भन्ने खुलाइएको हुन्छ । नयाँ आयोजना निर्माणको लागि हो भने आयोजना निर्माणको काम के-कति सकिएको छ, कहिलेसम्म विद्युत् बिक्री गर्न सकिन्छ, प्रशारण लाइनको उपलब्धता के छ लगायत पनि खुलाइएको हुन्छ । यसबाट सर्वसाधारणलाई आफ्नो लगानीमा कम्पनीले कहिलेबाट आम्दानी दिन थाल्छ भन्ने आकलन गर्न सजिलो पर्छ ।

कसैको लहैलहैमा लागेर सेयरमा लगानी गर्नुभन्दा पहिले आह्वानपत्रको राम्ररी अध्ययन गर्नुपर्छ

बिमा कम्पनीको सन्दर्भमा पनि धेरै कुरा फरक भने हुँदैन । तर यदि कम्पनीले हकप्रद जारी गर्न लागेको हो भने संस्थापकबाट भने हकप्रदको रकम उठाइसकेको हो-होइन भन्ने थप जानकारी राखिएको हुन सक्छ । यो क्षेत्रको आह्वानपत्रमा पनि बैंक तथा वित्तीय संस्थाहरुमा भए जस्तै जानकारी हुन्छ ।

त्यस्तै, ऋणपत्रको आह्वानपत्रमा भने कहिलेसम्म लगानीकर्ताले रकम फिर्ता पाउँछन्, वार्षिक ब्याजदर कति दिन लागेको छ, कहिले-कहिले ब्याज वितरण गर्छन्, अन्तिम समयमा लगानीकर्तालाई भुक्तानी दिन सक्ने गरी अहिले नै कोष खडा गरिएको छ-छैन लगायतको थप जानकारी हुन्छ ।

सामूहिक लगानी कोषको योजनासम्बन्धी आह्वानपत्रमा योजना व्यवस्थापकहरुमा को-को छन्, उठाइएको रकमको लगानी तरिका अर्थात् सेयरमा कति लगानी गर्ने, ऋणपत्रमा कति, बैंकमा निक्षेपको रुपमा कति लगानी गर्ने लगायतका थप जानकारी हुन्छ । त्यस्तै, बन्दमुखी अर्थात् परिपक्व अवधिपछि मात्र रकम फिर्ता पाउने खालको हो-होइन उल्लेख हुन्छ ।

हुन त बन्दमुखी योजना पनि दोस्रो बजारमा भने सूचीकृत हुने भएकोले कारोबार गर्न भने पाइन्छ । खुलामुखी योजना हो भने आह्वानपत्रमा उल्लेख हुन्छ । हुन त नेपालमा खुलामुखी योजना हालसम्म सञ्चालनमा ल्याइएको छैन । यस्तो योजना भने दोस्रो बजारमा मात्र नभएर सम्बन्धित सामूहिक लगानी कोषले नै दैनिक रुपमा आफैंले पनि योजना खरिद वा बिक्री गरिदिने व्यवस्था हुन्छ ।

आह्वानपत्रमा सेयरमा लगानी गर्दा लगानीकर्तालाई जानकारी दिनुपर्ने यी धेरै कुरा उल्लेख हुन्छ । त्यसैले कसैको लहैलहैमा लागेर सेयरमा लगानी गर्नुभन्दा पहिले आह्वानपत्रको राम्ररी अध्ययन गर्नुपर्छ ।

प्रस्तुती: विजयराज खनाल 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको