विसंगती विरुद्ध : नाटक ‘क्लब सेभेन’

४ वर्ष अगाडि

काठमाडौंको अनामनगरस्थित मण्डला थिएटरमा यही बैशाख ४ गते देखि दयाहाङ राई तथा राजन खतिवडाद्वारा निर्देशित नाटक ‘क्लब सेभेन’ मंञ्चन भैरहेको छ ।

नाटकमा तीनवटा घटना देखाइने छ जसले समसामयिक शहरी सभ्यतामा मानिसको मनोविज्ञान कस्तो हुन्छ भनेर बताउँछ । ‘क्लब सेभन’ मा मानिसहरु विभिन्न उत्सव मनाउँछन् । उनीहरु देखावटीकै लागि पनि सानादेखि ठूला उत्सव यस्तै भव्य ठाउँमा मनाउन चाहन्छन् ।

आजको समाज देखाउन र सुनाउनमै रमाउँछ । कुनै पैसावाल बाबुले आफ्नो बच्चाको जन्मोत्सव धुमधामले मनाइदिन्छ राम्रैसँग पैसा खर्चेर। अनि अर्को पैसा नभएको बुबाको छोरोलाई पनि त्यसैगरी बर्थडे मनाउन रहर लाग्छ। छोरोले देखेर गरेको रहरसँग बुबाको इज्जतको प्रश्न धेरथोर जोडिन्छ नै । र, ऋण काडेरै भए पनि बर्थडे सेलिब्रेट हुन्छ। नेपालको समकालीन समाजमा देखिने यी सामान्य दृश्यहरु हुन्।

Club_seven_theatre_02-20042018090516-1000x0

धेरैको होड आफू खुशी हुनुभन्दा बढी अरुलाई खुशी बनाउनुमा हुन्छ। आफू सन्तुष्ट हुनुभन्दा अरुको चित्त बुझाउनुको होड बेग्लै छ। समग्रमा देखिनु र देखाउनुको आडम्बरमा रमाउँछ समाज। विशेषगरी आधुनिक जीवन जिउँने शहरीयाहरु । जसको लागि उचित केन्द्र बनेका छन् ( पार्टी प्यालेस र ब्याङ्क्वेट। न्वारनदेखि चुडाकर्म, विवाह र मृत्यु संस्कारसँग जोडिएका कार्यक्रम ब्याङ्क्वेटमा गर्नु खर्च गर्न सक्नेका लागि फेसन र पैसा नहुनेहरुका लागि बाध्यता बनेको छ। यस्तैमा दोहोरो चरित्र निभाइरहेको समाजलाई व्यङ्ग्य गर्ने नाटक हो “क्लब सेभेन” ।

नाटकको मुल उद्देश्य आडम्बरी र ढोंगी बन्दै गएको समाजलाई व्यङ्ग्य गर्नु हो। पात्र केन्द्रित नाटकमा तेस्रो घटनामा सर्वाधिक पात्रहरु छन्। सबैको सामाजिक प्रतिष्ठा र रवाफ छ। हरेक समस्या बुझेँ भन्ने मन्त्री, आफ्नो किताब नपढेकालाई पनि मैले यस्तो गरेको छु भन्दै सुनाउने लेखक, भलाद्मी प्रस्तुत हुन खोज्ने पत्रकार, नेपाली र अङ्ग्रेजी भाषा मिलाएर नारी सशक्तिकरणको कुरा गर्ने महिलादेखि रक्सीमा रमाउने डाक्टरसम्म। सबैजना क्लव सेभेनमा आयोजित पुरस्कार घोषणा कार्यक्रममा उपस्थित छन् ।

२३ गतेसम्म मंञ्चन हुने नाटक ‘क्लब सेभेन’ हरेक दिन साँझ ५ः३० बजे (सोमबार बाहेक) र शनिबार दिउँसो १ बजे अतिरिक्त सो हुनेछ । नाटकलाई सोमनाथ खनाल र सिजन दाहालले लेखेका हुन् ।

नाटकमा सुष्मा निरौला, रिजन परियार, सचिन मल्ल, कुशल गजमेर, सबिन घलन, सपना चौधरी, करण चन्द, किरण भेतवाल, समित कपाली लगायतका कलाकारको अभिनय छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट