अद्भूत गुणको खानी लसुन

६ वर्ष अगाडि

सुनलाई मसलाको रुपमा मात्रै ग्रहण गर्नु वा बुझ्नु गलत हुनेछ । वास्तवमै भन्ने हो भने लसुन मसला मात्र हैन, यो त बहुउपयोगी गुणहरुले भरिपूर्ण औषधी पनि हो ।

केही निश्चित धर्मावलम्बीहरुबाहेक प्रायः सबैको भान्छामा पाइने वस्तु हो– लसुन । अचार तथा तरकारीहरुमा व्यापक मात्रामा प्रयोग गरिने हुनाले सामान्यतः लसुन भन्नेबित्तिकै हामी मसलाको रुपमा यसलाई बुझ्ने गर्छौं । तर लसुनलाई मसलाको रुपमा मात्रै ग्रहण गर्नु वा बुझ्नु गलत हुनेछ । वास्तवमै भन्ने हो भने लसुन मसला मात्र हैन, यो त बहुउपयोगी गुणहरुले भरिपूर्ण औषधी पनि हो ।

 

garlic-with-parsley-fb-445x300इतिहासमा लसुन

लसुन Allium sativum समूहमा पर्ने बनस्पति हो । प्याज, छ्यापी पनि यसै समूहमा पर्दछ । आजभन्दा करिब ७ हजार वर्षअघिदेखि नै मानिसले लसुनको प्रयोग गर्दै आएको छ । मूलतः एशिया उत्पत्तिथलो रहेको लसुन एशियाका अलावा भूमध्यरेखीय क्षेत्रका साथसाथै अफ्रिका र युरोपमा पनि परापूर्वकालदेखि नै प्रयो्ग हुँदै आएको छ । भनिन्छ, इजिप्टमा प्राचीन पिरामीड बनाउन खटिएका कामदारहरुले प्रतिकूल स्थितिका विरुद्ध साहस बृद्धि गर्न तथा आफ्नो तागत बढाउन नियमित रुपमा लसुनको प्रयोग गर्ने गर्थे । इजिप्टकै नाइल नदीको तटीय क्षेत्रमा पर्ने पेलुसियम शहरका वासिन्दाहरु चाहिँ लसुनलाई पूजा गर्थे । उनीहरु लसुन, प्याज खाँदैनथिए ।

प्राचीन ग्रिकमा चाहिँ भूतप्रेत र राक्षसकी देवी हेक्टेलाई प्रसादको रुपमा चौबाटाहरुमा लसुन चढाउने गर्थे । लसुनमा छिटो गल्न नदिने र कार्यक्षमता बढाउने खुबी रहेको कुरा ग्रीसवासीले पहिल्यै थाहा पाएको थिए । त्यसबेला ओलम्पिकमा सहभागी हुने खेलाडीहरुलाई लसुनको सेवन गराइन्थ्यो ।

उता रोमनमा चाहिँ लसुनको प्रयोग विषप्रतिरोधी औषधीको रुपमा हुने गथ्र्यो । स्पेनिसहरुले पनि प्राचीन कालदेखि नै लसुनको औषधीय गुण पत्ता लगाएका थिए । खास गरी प्रिजर्भेटिभको रुपमा स्पेनमा लसुनको व्यापक प्रयोग हुने गथ्र्यो ।

त्यसैगरी, युरोपका वासिन्दाहरु चाहिँ लसुनमा भूतप्रेत, पिशाच, भेम्पायर र राक्षसलाई धपाउने शक्ति हुन्छ भन्ने विश्वास गर्थे । उनीहरु लसुनलाई उनेर घाँटीमा भिर्थे, घरको झ्याल ढोका, चिम्नी र चाबीका प्वालहरुमा झुण्ड्याउने वा दल्ने गर्थे ।

 

लसुनको उत्पादन

लसुनको उत्पादन विश्वव्यापी रुपमा नै हुने गरेको छ । तर राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) को  सन् २०१२ को तथ्यांकअनुसार, संसारमा सबैभन्दा बढी लसुन उत्पादन गर्ने देश चीन हो । त्यस वर्ष चीनले २ करोड टन लसुन उत्पादन गरेको थियो । दोस्रो नम्बरमा भारत पर्न आउँछ । सन् २०१२ मै भारतले ११ लाख ५० हजार टन लसुन उत्पादन गरेको थियो । सोही साल दक्षिण कोरियाले ३३९११३ टन, इजिप्टले ३०९१५५ टन, रुसले २३९३१२ टन र बंगलादेशले २३३६०९ टन लसुन उत्पादन गरेको थियो । त्यसैगरी इथियोपियाले २२२५४८ टन, बर्माले २१३००० टन, अमेरिकाले १९५९१० टन र युक्रेनले १७१४०० टन लसुन उत्पादन गरेको थियो ।

आधुनिक चिकित्साविज्ञानका पिता मानिने हिप्पोक्रेट्सले भन्ने गर्थे – खाना नै औषधी होस् र औषधी चाहिँ खाना । भनिन्छ – उनले थुप्रै रोगहरुको उपचार गर्ने सिलसिलामा आफ्ना विरामीहरुलाई नियमित रुपमा लसुन सेवन गर्ने सल्लाह दिन्थे ।”

परापूर्वकालदेखि नै आयुर्वेदले लसुनको औषधीय गुणहरुबारेमा उल्लेख गरी यसलाई मसलाको रुपमा मात्र हैन, औषधीको रुपमा पनि प्रयोग गर्दै आएको हो । पछिल्लो चरणमा आएर आधुनिक औषधी विज्ञानले पनि लसुनमा थुप्रै औषधीय गुणहरु रहेको कुरा प्रमाणित गरिसकेको छ ।

 

लसुनको मुख्य तत्व एल्लिसिन

लसुनलाई काट्दा, मिच्दा वा पिस्दा एक किसिमको नमीठो गन्ध आउँछ । त्यो गन्ध वास्तवमा लसुनमा हुने गन्धकले गर्दा पैदा हुन्छ । लसुनमा हुने त्यो गन्धक तत्वलाई एल्लिसिन (Allicin)  भनिन्छ । वास्तवमा लसुनको सबैभन्दा गुणकारी तत्व भनेकै त्यो नमीठो गन्ध पैदा गराउने एल्लिसिन हो । लसुनलाई जिवाणु प्रतिरोधी (antibiotic)  बनाउने तथा हाम्रो शरीरमा जिवाणहरुको बृद्धि रोक्ने क्षमता प्रदान गर्ने नै त्यही एल्लिसिन हो । लसुनमा पाइने १ मिलिग्राम एल्लिसिनको क्षमता पेन्सिलिनको १५ मात्रा बराबर हुन्छ।

हामीले लसुनको सेवन गर्दा पाचन प्रणालीको माध्यम हुँदै रगतबाट लसुनमा हुने त्यो एल्लिसिन नामक तत्व हाम्रो शरीरको सम्पूर्ण हिस्सामा पुग्ने गर्छ, जसले गर्दा आवश्यकताअनुसार त्यसको गुणकारी तत्वहरु शरीरको आवश्यक ठाउँमा पुग्न जान्छ ।

लसुनका फाइदाहरु

लसुनमा क्यालोरी अत्यन्तै न्यून हुन्छ तर यसमा पोषण (nutrition)  चाहिँ पर्याप्त मात्रामा हुन्छ । सामान्यतः १००  ग्राम लसुनमा निम्नानुसार पोषणतत्वहरु पाइन्छः

शक्ति:                   ६२३ क्यालोरी

काबोइहाइड्रेड:         ३३.०६ ग्राम

चिनी:                    १ ग्राम

खाद्य फाइबर:      २.१ ग्राम

चिल्लो:                 ०.५ ग्राम

प्रोटिन:                 ६.३९ ग्राम

भिटामीनहरु

थायमिन (बी१) :                   ०.२ mg

रिबोफ्लाविन (बी२):             ०.११ mg

नाइसिन (बी३):                    ०.७ mg

पान्टोथेनिक एसिड (बी५):   ०.५९६ mg

भिटामीन बी६:                     १.२३५ mg

फोलेट (Folate)  बी९:          ३ mg

भिटामीन सी:                      ३१.२  mg

यसबाहेक, त्यति परिणामको लसुनमा क्याल्सियम १८१ mg, म्याग्नेसियम २५ mg, म्याग्नेस १.६७२ mg, पोटासियम ४०१ mg,  सोडियम १७ mg, जिंक १.११६ mg पाइन्छ । त्यसबाहेक अन्य थुप्रै पोषण तत्वहरु पनि त्यसमा १४.२ μg  मात्रामा विद्यमान हुन्छ ।

लसुनमा पाइने केही औषधीय गुणहरु निम्नानुसार छन्ः

क्यान्सर निरोधक

लसुनमा जर्मानियम (germanium)  नाम गरेको तत्व पाइन्छ । यो तत्व क्यान्सर प्रतिरोधी हुन्छ । अन्य कुनै पनि जडीबुटीमा भन्दा बढी यो तत्व लसुनमा नै पाइन्छ । प्रयोगशालामा मुसामाथि गरिएको परीक्षणमा लसुनमा पाइने यही जर्मानियम नाम गरेको तत्वमा क्यान्सर प्रतिरोधी क्षमता हुने गरेको र त्यसले  लसुन खुवाइएको मुसामा क्यान्सरको कोष बृद्धि हुन रोकेको देखाएको थियो । मानिसमा नै पनि लसुनको सेवन गर्दा क्यान्सरको कोष बृद्धि रोकिएको तथा सुस्त भएर गएको देखिएको थियो ।

त्यसो त लसुनमा जस्तै प्याजमा पनि क्यान्सर प्रतिरोधी तत्व हुने विभिन्न अध्ययनहरुले देखाएको छ । लसुन प्याजको सेवन गर्नेहरुलाई आमाशय, आन्द्रा, फोक्सो र कलेजोको क्यान्सर लाग्ने सम्भावना सेवन नगर्नेहरुको तुलनामा निक्कै कम हुने अध्ययनहरुमा देखिएको छ  । त्यसैले अहिले अमेरिकाको नेशनल क्यान्सर इन्स्टिच्यूटले पनि लसुनलाई क्यान्सर प्रतिरोधी खाद्यान्नमध्येमा सबैभन्दा उच्च खाद्यान्नको रुपमा मान्यता दिइसकेको छ ।

रक्तचाप नियन्त्रण

लसुनले रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ । उच्च रक्तचापका समस्या भएकाहरुले नियमित रुपमा लसुनको सेवन गर्ने हो भने निश्चितै रुपमा त्यसले रक्तचाप कम गराउन र सन्तुलनमा ल्याउन मद्दत गर्नेछ । त्यसो त लसुनले रक्तचापलाई घठाउने भन्दा पनि नियन्त्रित गर्ने भएकोले न्यून रक्तचाप भएका रोगीहरुलाई पनि लसुनले फाइदा नै गर्ने गर्छ ।

त्यसैगरी, लुसुनले रक्तनलीका भित्ताहरुमा नाइट्रिक अक्साइडको उत्पादनलाई बढाइदिन्छ । यो नाइट्रिक अक्साइडले रक्तनलीलाई आराम पुर्याउने गर्छ ।

खराब कोलेस्ट्रोल घटाउँछ

आधुनिक जीवन पद्दति र अव्यवस्थित खानपीनका कारण मानिसहरुमा खराब कोलेस्ट्रोल बढ्ने गरेको कुरा आम समस्या भइसकेको छ । विशेषतः यस्ता खराब कोलेस्ट्रोलले हाम्रो मुटुको रक्तनली तथा धमनीहरुलाई अवरुद्ध गरेर मानिसमा हृदयघातको समस्या निम्त्याउने गर्छ । नियमित रुपमा लसुनको सेवन गर्ने हो भने सिरम ट्रिग्लिसेरिड्स एवं एलडीएल कोलेस्ट्रोल (serum triglycerides and LDL-cholesterol)  को रुपमा चिनिने यस्ता खराब कोलेस्ट्रोललाई घटाउने काम गर्छ । त्यसै गरी, यसले हाम्रा धमनीहरुमा बोसोको पत्रहरु बन्न र जम्न दिँदैन । फलतः लसुनले हृदयघात एवं मस्तिष्कघात हुने खतरा पनि कम गराउँछ । भनिन्छ, दिनमा दुई वा तीन केस्रा लसुन नियमित रुपमा सेवन गर्ने हो भने हृदय रोगीहरुमा हृदयघात हुने सम्भावनालाई आधा नै घटाइदिन्छ । त्यसैगरी, लसुनले रगतमा असल कोलेस्ट्रोल (serum HDL-cholesterol )को मात्रा बढाइदिन्छ ।

रगत जाम हुने समस्यालाई घटाउँछ

लसुन सेवनको अर्को फाइदा भनेको यसले रगतलाई जम्नबाट रोक्छ । विशेष गरेर लसुनको सेवनले रगतमा फाइब्रिनोलाइसिस (Fibrinolysis)  को प्रक्रिया बढ्न जान्छ, फलतः रगत जमेर थक्काहरु बन्ने र त्यसले रक्तप्रवाहमा गतिरोध ल्याएर घातक असर पार्ने सम्भावना न्यून हुन जान्छ । लसुनले एस्पिरिनले जस्तै काम गर्ने विभिन्न अध्ययनहरुले देखाएको छ । विशेष गरेर रक्तनलीहरुमा रगत जमेर ह्याम्रेज हुने समस्याबाट लसुनले यसका नियमित सेवनकर्ताहरुलाई बचाउँछ । त्यसैले रगतसम्बन्धी समस्या भएकाहरु, शल्यक्रिया गर्नुपर्ने बिरामी तथा बच्चा जन्माउन आँटेका महिलाहरुले सकेसम्म लसुनको सेवन कम गर्नुपर्छ ।

रगतमा ग्लुकोजको मात्रालाई नियन्त्रित गर्छ

लसुनले रगतमा ग्लुकोजको मात्रा बढ्न दिँदैन । फलतः मधुमेहका रोगीहरुका लागि लसुनको नियमित सेवन एउटा फाइदाजनक उपाय हुन सक्छ ।

बहु विशेषता भएको एन्टिबायोटिक

लसुनको नियमित सेवनले हाम्रो पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यसैगरी, पाचन प्रणालीमा बास गर्ने विभिन्न किसिमका जुका एवं कृमीहरुलाई मार्न र निस्कासन गर्न पनि यसले मद्दत गर्छ ।

लसुन एउटा बहु विशेषता भएको एन्टिबायोटिक पनि हो । अर्थात् विभिन्न किसिमका विषाणहरुलाई मार्नको लागि लसुनको प्रयोग गर्न सकिन्छ । नियमित रुपमा लसुनको सेवन गर्ने हो भने विभिन्न घातक रोगहरुले आक्रमण गर्ने सम्भावना न्यून हुन्छ । यसको सेवनले रोगहरुबाट बचाउनुका साथसाथै मानव शरीरलाई हानिकारक असर पार्ने रसायनयुक्त एन्टीबायोटिकहरुको सेवन गर्नुपर्ने अवस्था नै आइलाग्दैन ।

हाम्रो शरीरमा विभिन्न किसिमका जिवाणुहरु हुन्छन् । तीमध्ये कतिपयले हामीलाई रोगी बनाउँछ भने कतिपय जिवाणुहरुले चाहिँ हामीले खाएको खानेकुरा पचाउनेदेखि लिएर शरीरका हानिकारक तत्वहरु खाइदिने तथा बाहिरी जिवाणुहरुको दुस्प्रभावबाट बचाउने काम समेत गर्दछ । तर हानिकारक जिवाणुको कारण लाग्ने रोग निवारण गर्न हामीले आधुनिक एन्टीबायोटिक औषधीहरुको सेवन गर्दा त्यसले रोगकारक जिवाणुहरु मात्र हैन, हाम्रो शरीरको लागि हितकारी जिवाणुहरुलाई समेत नष्ट गरिदिने गर्छ । तर विभिन्न अध्ययन एवं अनुसन्धानहरुले लसुनले चाहिँ त्यसको ठीक विपरीत काम गर्ने प्रमाणित भइसकेको छ । लसुनमा त्यस्तो एन्टीबायोटिक गुण हुन्छ, जसले हाम्रो शरीरको हितकारी जिवाणुहरुलाई कुनै नोक्सानी गर्दैन, त्यसले रोगकारक जिवाणुहरुलाई मात्र मारिदिने गर्छ ।

लसुनमा एन्टीब्याक्टेरियल गुण मात्र हैन, एन्टीफंगल अर्थात् ढुसी प्रतिरोधी गुण पनि हुन्छ । त्यसैले फंगल इन्फेक्सनमा समेत लसुनको सेवन र औषधीको रुपमा प्रयोग गर्दा फाइदा पुग्छ ।

लसुनको एउटा हितकारी खुबी के पनि हो भने यसमा एन्टिअक्सिडेन्ट तत्व हुन्छ । तसर्थ लसुनको नियमित सेवनले हाम्रा कोषहरुमा पैदा हुने विकास निस्कासनमा सहयोग पु¥याएर कोषहरु नष्ट हुन र चाँडै आयु समाप्त हुनबाट पनि बचाउँछ । साथै यसले अल्जिमर (Alzheimer)’क० र मतिभ्रम (Dementia)  हुने रोगमा पनि फाइदा गर्छ ।

लसुनमा एलर्जी हटाउने क्षमता पनि हुन्छ । रुघाखोकी लाग्दा, घाँटी दुख्दा लसुनको सेवन गर्ने हो भने त्यसले निक्कै फाइदा पुग्छ ।

लसुनले कलेजोलाई स्वस्थ राख्न मद्दत गर्छ । यसले कलेजोमा पाचन रसहरुको उत्पादन हुन सहयोग गर्छ र कलेजोमा बोसो जम्ने समस्या पनि पैदा हुन दिँदैन ।

लसुनले गर्ने अर्को फाइदा भनेको तौल बढ्न नदिने पनि हो ।  अमेरिकन जर्नल अफ हाइपरटेन्सनमा प्रकाशित एक रिपोर्ट अनुसार, जनावरहरुमाथि गरिएको एक अध्ययनमा लसुनमा पाइने मुख्य तत्व एल्लिसिनले तौल बढ्न नदिने कुरा पुष्टि भएको छ ।

हड्डी बलियो बनाउँछ

यद्यपि लसुनले हड्डीमा पार्ने प्रभावबारेमा मानिसमाथि प्रयोग एवं अनुसन्धानभएको छैन, तर प्रयोगशालमा मुसामाथि गरिएको प्रयोगमा लसुनको सेवनले पोथीहरुमा एस्ट्रोजिनको उत्पादन बढेर हड्डी खिइने समस्या कम भएको देखिएको छ । उता महिनावारी रोकिएका महिलाहरुमाथि गरिएको अध्ययनमा पनि २ ग्राम बराबर लसुनको नियमित सेवन गर्दा एस्ट्रोजिनको कमी हुने समस्यामा फाइदा पुगेको देखिएको थियो । यस आधारमा लसुनको सेवनले महिलाहरुको हड्डी स्वस्थ रहने आँकलन गरिएको छ ।

लसुन : केही तथ्य

कतिपय पश्चिमा देशहरुमा लसुनले भूतप्रेत तथा खराब आत्मलाई भगाउने शक्ति राख्छ भन्ने विश्वास गरिन्छ ।

१९ अप्रिललाई लसुन दिवसको रुपमा मनाइने गरिन्छ ।

लसुनलाई कहिल्यै पनि माइक्रोवेभ ओभनमा पकाउनु हुँदैन । त्यसो गर्दा लसुनको फाइदाजनक तत्वहरु नष्ट भएर जान्छ ।

आजभोलि लसुनका करिब ३०० प्रजातिहरुको खेती गरिन्छ ।

फाइदा गर्छ भन्दैमा जथाभावी लसुनको सेवन गर्नु हुँदैन । सामान्यतः २–३ केस्रो लसुनको दैनिक सेवन गर्न सकिन्छ । बढी लसुनको सेवनले छात्ती पोल्ने, पेट ढुस्स हुने र अन्य एलर्जीहरु देखापर्न सक्छ ।

लसुनको अत्यधिक सेवनले टाउको दुख्ने, शरीर थाक्ने, भोक नलाग्ने, मासु बाउँडिने र चक्कर लाग्ने हुन सक्छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट